- प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्रीले होटेल व्यवस्थापनसँग वार्ता गरे, सुरक्षाको पूर्ण प्रत्याभूति दिने भन्दै सेवा निरन्तर सञ्चालन गर्न अर्थमन्त्रीको आग्रह
राजधानीको पाँचतारे होटेल हायात रिजेन्सीको सेवा बन्द नगर्न व्यवस्थापनलाई सरकारले आग्रह गरेको छ । होटलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अनिश्चितकालको लागि होटेल बन्द भएको जानकारी गराएको हो । विज्ञप्तिमा भनिएको छ, ‘मर्मत र पुनर्निर्माणको जोखिम तथा सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै होटेलका सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गरिएको छ । ट्रेड युनियनसँग छलफल भई पुन: सञ्चालनको निर्णय नहुँदासम्म सम्पूर्ण कर्मचारीलाई होटेल परिसरमा उपस्थित नहुन अनुरोध गरिएको छ ।’
होटल बन्द भएको बिषयमा प्रधानमन्त्री सुशीला कार्कीले गम्भीर चासो व्यक्त गरेकी छिन् । प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले शनिबार बिहान होटेल व्यवस्थापनसँग सम्पर्क गरी अवस्थाबारे जानकारी लिएका छन् । उनले होटेल व्यवस्थापनलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिँदै सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेका हुन्् । अर्थमन्त्री खनालले भने, ‘तपाईंहरू आत्तिनुपर्दैन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी सरकारको तर्फबाट साथमा छौँ । सुरक्षाको व्यवस्था मिलाइन्छ, त्यसैले विचलित नहुनुहोस् र व्यवसायलाई निरन्तरता दिनुहोस् ।’ सरकारले यस विषयमा होटेल व्यवस्थापनसँग आइतबार थप छलफल गरी आवश्यक पहल गर्ने तयारी गरेको छ ।
यता, होटेल व्यवस्थापनले भने अघिल्ला आन्दोलनका क्रममा भएको क्षति र सुरक्षाका कारण तत्काल सेवा सञ्चालन गर्न नसकिएको जनाएको छ ।
मानव स्रोत निर्देशक मोहम्मद युसुफ यामिनद्वारा जारी विज्ञप्तिमा २३ र २४ भदौमा भएको तोडफोड र आगजनीका कारण होटेल संरचनामा क्षति पुगेकाले मर्मत तथा पुनर्निर्माणको कार्य सुरु गर्नुपर्ने उल्लेख छ ।
सरकार र होटेल व्यवस्थापनबिचको आगामी छलफलपछि हायात रिजेन्सीले पुन: सेवा सुरु गर्ने वा मर्मतका काम अघि बढाउने भन्ने विषयमा स्पष्टता आउने अपेक्षा छ ।