चाडपर्वको समयमा काठमाडौं उपत्यकामा अपराधको अवस्था कस्तो रह्यो ?
समग्रतामा यो चाडपर्वमा ठुला झै–झगडा र लुटपाटका घटना भएनन् । दुर्घटना भएर मृत्यु हुने संख्या पनि घट्यो । चाडपर्व शान्तिपूर्वक नै रह्यो । तर, यसबिचमा जुवातास र कालोबजारीका घटनामा मुद्दा चलाउनुपर्यो । ‘मोडिफाइड मोटरसाइकल’मा आतंक मच्चाउन खोज्ने तथा ध्वनिप्रदूषण गर्नेमाथि पनि कारबाहीलाई तीव्रता दिएका थियौँ । त्यस्ता सात–आठ सय मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही गरेकाले पनि उनीहरूको आतंक हुन पाएन । छिटफुट अपराधबाहेक उपत्यकाको दसैैँ–तिहार शान्तिपूर्वक नै रह्यो ।
जुवातास खेल्ने र पटाका पड्काउने घटना यो वर्ष अलि बढ्यो, प्रहरीले त्यसमा धेरै चासो नदिएको हो ?
बाह्य संस्कृतिको अनुकरण अलिकति बढेजस्तो देखियो । विदेशमा जस्तो पटाकाजन्य पदार्थ ल्याएर पड्काउने घटना बढ्यो । यसमा प्रबुद्ध वर्ग र पढे–लेखेकै मान्छेहरू हुनुहुन्छ । जसका कारण यसमा सचेतनाको अभाव भयो भन्न मिलेन, लापरबाही भएको देखिन्छ । पटाका बेच्ने कतिपयलाई विस्फोटक पदार्थ ऐनअनुसार समेत कारबाही गरिएको छ । जुवातासमा पनि धेरै पक्राउ परेका छन् । यसमा प्रहरीले चासो नदिएको भन्न मिल्दैन ।
अबका दिनमा उपत्यकाको सुरक्षाका मुख्य चुनौती के विश्लेषण गरिएको छ ?
उपत्यकाको मुख्य चुनौती भनेको कारागारबाट भागेका कैदीबन्दी हुन् । उनीहरूले कुनै अपराध गर्न सक्छन् भनेर सचेत भएर लागेका छौँ । दोस्रो भनेको विभिन्न समूहले गर्ने विरोध तथा प्रदर्शनबाट हुन सक्ने समस्यालाई हामीले संवेदनशील भएर हेर्नुपर्ने हुन्छ । नेपालमा हिउँदमा सधैँ नै राजनीतिक तथा सामाजिक मुद्दामा विरोध प्रदर्शन हुन्छन् । त्यसमा आन्दोलन गर्ने समूहको जिम्मेवार व्यक्ति तोकेर मात्र अनुमति दिने भन्ने छ । त्यसका अलावा मुलुकको अर्थतन्त्र अत्यन्त दबाबमा रहेकाले आर्थिक अपराधको संख्या बढ्ने देखिन्छ । त्यहीअनुसार सुरक्षा योजना बनाएर अघि बढेका छौँ ।