खाडी मुलुक कतारमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) ले स्थानीय एक स्वास्थ्य संस्थासँग सहकार्य गरी स्तन क्यान्सरसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ।
एनआरएनए कतारले दोहामा रहेको नसिम मेडिकल सेन्टरसँग सहकार्य गरी स्तन क्यान्सर सचेतना कार्यक्रम आयोजना गरेको एनआरएनए एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले बताए। कतारमा रहेका नेपाली समुदायमा स्तन क्यान्सरको समयमा पहिचान, रोकथाम तथा नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे कार्यक्रममा जानकारी प्रदान गरिएको अध्यक्ष पन्थीले बताए।
सचेतनामूलक कार्यक्रममा डा. नुरुलिसा पलाथुरले स्तन क्यान्सरको पहिचान गरी समयमै उपचार गर्नुपर्ने सम्बन्धमा जानकारी दिएकी थिइन्। प्रारम्भिक लक्षण पहिचान, स्क्रिनिङको आवश्यकता तथा समयमै उपचारको महत्त्वबारे डा. पलाथुरले सहभागी नेपाली समुदायलाई जानकारी दिएको कार्यक्रम संयोजक एनआरएनए एनसिसी कतारको महिला उपाध्यक्ष तौमाया गुरुङले बताइन्। सो सचेतनामूलक कार्यक्रममा नेपाली समुदायका सयौँको सहभागी रहेको थियो।
स्वास्थ्य उपचारमा छुट १० देखि ३० प्रतिशतसम्म छुट
यस्तै, एनआरएनए कतारले नेपाली समुदायको स्वास्थ्य जाँचहरूमा छुट हुने गरी समझदारी गरेको छ। सचेतना कार्यक्रमसँगै एनआरएनए एनसिसी कतार अध्यक्ष कृष्ण पन्थी र नसिम मेडिकल सेन्टरका सहायक प्रबन्धक असरफले नेपाली समुदायलाई आवश्यक पर्ने स्वास्थ्य जाँचमा छुट प्रदान गर्ने गरी समझदारी-पत्रमा हस्ताक्षर गरेको हो।
कतारस्थित कुनै निजी स्वास्थ्य संस्थासँग भएको पहिलो सम्झौता भएको स्थानीय नेपाली व्यवसायी यास्मिन नाजले बताइन्। नेपाली समुदायको हितमा एक महत्वपूर्ण समझदारी भएको कार्यक्रमको सहजीकरणसमेत गरेको व्यवसायी नाजले बताएकी छिन्।
विशेषज्ञ सेवामा ३० प्रतिशत, सिटिस्क्यान, एमआरआईमा १५ प्रतिशत, प्याथोलोजी जाँच, एक्सरे, अल्ट्रासाउन्डमा ३० प्रतिशत, डेन्टल, डर्माटोलोजीमा १५ प्रतिशत र कस्मेटिक टेन्टल, कस्मेटिक डर्माटोलोजीलगायतमा १० प्रतिशत छुटको सहमति गरिएको छ।