संघीय सरकारले विभिन्न आयोजनाको बजेट रोक्योः मुख्यमन्त्री आचार्य

शनिबार, ९ कार्तिक, २०८२
डिजिटल संस्करण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले विभिन्न आयोजनाको बजेट रोक्का गरेको बताएका छन्। उनले विकास बजेट रोक्का गर्दा चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट कार्यान्वयनमा समस्या परेको पनि बताए।

नेकपा एमाले अर्घाखाँचीले शनिबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सडक पूर्वाधार, सहरी विकास, खानेपानीलगायत जनतासँग प्रत्यक्ष जोडिएका आयोजनामा विनियोजित बजेट संघीय सरकारले रोक्का गरेकाले काम अघि बढ्न नसकेको बताएका हुन्। उनले भने, ‘संघीय सरकारले बजेट रोक्का गर्दा सहरी विकास, खानेपानी, सडकका कामहरू रोकिएका छन्। आज काम नगर्ने भनिएको छ। अर्घाखाँची जिल्लाको विकासको गति अहिलेको संघीय सरकारले कहाँ पुर्याउँदै छ? देशको विकास के हुँदै छ? यो विषयमा जवाफदेहिता हुनुपर्छ कि पर्दैैन।’

उनले आपसी भाइचारा र सम्बन्ध कायम राख्दै आएको सामाजिक सद्भावलाई अक्षुण राख्न सबै राजनीतिक दल, नागरिक समाज र संघसंस्थाका प्रतिनिधिलाई सहयोग गर्न आग्रह गरे। 

मुख्यमन्त्री आचार्यले कात्तिक १० गते एमाले अर्घाखाँचीले संविधान संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि सद्भाव र्यालीको आयोजना गर्न लागेको जानकारी दिँदै सो कार्यक्रममा सबैलाई सहभागी हुन आह्वान गरेका छन्।

कार्यक्रम एमाले अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सह–महामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान), नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुरकुमार विक (किशोर), राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर बिसी, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सुझावित समाचार