नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन-जी युवा र माओवादी मिलेर चुनाव लड्नुपर्ने बताएका छन्। महोत्तरीको रामगोपालपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जेन-जी युवा र माओवादी मिलेर चुनाव लडे मात्रै जेन-जीका माग पूरा हुने बताएका हुन्।
‘अब जेन-जी युवाहरू र माओवादी मिलेर चुनाव लड्नुपर्छ र मात्रै जेन-जीका माग पूरा हुन सक्छन्,’ उनले भने, ‘अरू कसैले जेन-जीका माग पूरा गर्दैनन्।’ प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रको मुद्दा विगतदेखि नै माओवादीले उठाउँदै आएको चर्चा गरेका ‘प्रचण्ड’ले यसको विरुद्धमा रहेकाहरूले जेन-जी युवाहरूका भावना बुझ्न नसक्ने बताए।
‘जो प्रत्यक्ष निर्वाचित कार्यकारीको विरुद्धमा छ। जो पूर्ण समानुपातिक निर्वाचन प्रणालीका विरुद्धमा छ। जो समावेशी लोकतन्त्रको विरुद्धमा छ। उनीहरूले जेन-जी युवाहरूको भावनालाई बुझ्न सम्भव छैन,’ उनले थपे, ‘यसकारण मैले पेरिसडाँडाबाट पनि पत्रकारहरूसँगको कुराकानीमा पनि जेन-जी युवाहरूलाई लगातार अपिल गर्दै आएको छु।’
पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले आफ्नो मित्र र बैरी चिन्न पनि जेन-जी युवालाई आग्रह गरे। ‘आजका जेन-जी युवाहरूले आफ्नो मित्र र दुश्मन को हो चिन्न सक्नुपर्यो। आफ्ना अभिभावक र मित्रलाई दुश्मनजस्तो, दुश्मनलाई मित्रजस्तो ठान्ने हो भने त्योभन्दा ठुलो दुर्भाग्य यो देशका लागि केही हुन सक्दैन,’ ‘प्रचण्ड’ले भने।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ठुलो संख्यामा माओवादी प्रवेश गरिएको थियो। त्यसतर्फ इंगित गर्दै ‘प्रचण्ड’ले खादा लगाइदिँदा थाक्ने गरी पार्टी प्रवेश भएको र तीमध्ये ६० प्रतिशत जति जेन-जी पुस्ता भएको बताए।
उनले जनयुद्ध र जनआन्दोलन गर्दा आफू पनि जेन-जी नै भएको दाबी गरे। उनले भने, ‘मैले कहिलेकाहीँ भन्छु, हिजो हामीले जनयुद्ध र जनआन्दोलन गर्दा जेन-जी नै थियौँ। आज मधेशमा सयौँको संख्यामा पहिलोचोटि जेन-जी आन्दोलनपछिको अति भव्य सार्वजनिक कार्यक्रममा सयौँ-सयौँ, हजारौँ वरिपरि, ६० प्रतिशत जेन-जी युवाहरू कुन पार्टीमा प्रवेश गरे ? माओवादी केन्द्रमा।’