रौतहटको चन्द्रपुरमा यात्रुवाहक बसमा आगलागी

बसमा ३९ यात्रु र ३ जना स्टाफ सहित ४२ जना सवार थिए

बुधबार, ६ कार्तिक, २०८२
डिजिटल संस्करण

रौतहटको चन्द्रपुर नगरपालिका– ४ स्थित पश्चिम लच्कानजिक पूर्व–पश्चिम लोकमार्गमा बुधबार बिहान यात्रुवाहक बसमा भीषण आगलागी भएको छ । काठमाडौंबाट चपुरतर्फ आउँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बिहान करिब ७:२० बजे अचानक ब्याट्रीको तार सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ । बसमा ३९ यात्रु र ३ जना स्टाफ सहित ४२ जना सवार थिए ।

घटनाको जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रूपेशकुमार झाको कमान्डमा टोली खटिएको थियो । स्थानीयवासी, प्रहरी र बारुण यन्त्रको सहयोगमा करिब ८:१५ बजे आगो नियन्त्रणमा आएको छ । आगोले जलेर बस पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ । घटना कुनै मानवीय क्षति भने भएको छैन ।

प्रहरीका अनुसार घटनास्थल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट करिब तीन किलोमिटर पश्चिमतर्फ पर्दछ । आगलागीका कारण केही समय सडकमै सवारी आवागमन प्रभावित भए पनि अहिले बाटो खुलेको र आवागमन सहज भएको छ ।

See More On

सुझावित समाचार