चाहे अचारसँग होस् या चियासँग, स्कुलको क्यान्टिनमा होस्, अफिसमा या मिठाई पसलमा। जहाँ पनि पाइन्छ सेलरोटी। पछिल्लो समय ठुला–ठुला सुपरमार्केटमा समेत प्याकिङमा सेलरोटी पाइन थालेको छ। अनलाइनमा अर्डर गरेर पनि सेलरोटी खान सकिन्छ। विशेष गरी तिहारमा धेरैले सेलरोटी बनाउँछन् । घरमै पनि विभिन्न भेराइटीका सोलरोटी बनाउन सकिन्छ।
काँडे सेलरोटी
साइजमा केही सानो देखिए तापनि निकै आकर्षक र छुट्टै मिठास छ। सोसल मिडियामा निकै भाइरल भइरहेको यो काँडे सेलरोटी घरमै बनाउन सकिन्छ।
सामग्री : रातभर भिजाएको चामल एक किलो, शुद्ध नेपाली घिउ २५० ग्राम, चिनी ३०० ग्राम, एक टिस्पुन बेकिङ पाउडर, फ्राई तेल आवश्यकताअनुसार मिलाउन सकिन्छ।
विधि : भिजाएको चामललाई राम्ररी ब्ल्यान्डरमा पानी मिसाएर पिस्ने । पिसेको चामलको लेदोलाई हातले १० मिनेटजति मज्जाले माड्ने । घिउ र चिनी हालेर पुनः १० मिनेट माड्ने र बेकिङ पाउडर हालेर राम्ररी मिक्स गरी छोपेर ५–७ घन्टा राख्ने । सेलरोटी बनाउन बाक्लो तावामा तेल तताउने ।
तेलको तापक्रम २२०–२३० डिग्रीभन्दा माथि नलैजाँदा राम्रो हुन्छ । घरमा प्रब (तातो–चिसो नाप्ने थर्मोमिटर) छैन भने हातमा थोरै मुछेको पिठो लिएर कति तातेको छ भनेर नाप्न सकिन्छ । तेल राम्ररी तात्नासाथ एउटा झाँजरलाई तेलको माथि राखेर सोलीमा राखेको सेलरोटीको पिठोलाई सानो रिंग हुने गरी घुमाउने । एकसाइड पाक्नासाथ अर्कापट्टि फर्काउने र गोल्डेन ब्राउन देखिन थालेपछि तेलबाट निकालेर स्टेनरमा तेल तर्कन छाडिदिने । त्यसपछि रोटी पकाउँदै जाने । एक किलो चामलले झन्डै ३० पिस काँडे सेलरोटी बनाउन सकिन्छ । शुद्ध घिउमा तार्ने हो भने यसको मिठास अझ उत्तम हुन जान्छ ।
हनी नट्स सेलरोटी
सामग्री : ताइचिन चामल– ५०० ग्राम, शुद्ध नेपाली घिउ– ३ चिया चम्चा, चिनी– १-४ कप, मह– ५ टेबल चम्चा, उसिनेर पिसेको काजु पेस्ट, सुजी– १-४ कप, मैदा– ३ टेबल चम्चा, दूध– १ कप, सुकुमेलको धुलो– पिन्च, बेकिङ सोडा–चिम्टी, पानी आवश्यकताअनुसार थप्ने।
विधि : चामललाई एक घण्टा भिजाएर छान्ने र घाम या हावामा सुकाउन राख्ने। हल्का सुक्खा हुनासाथ ब्ल्यान्डरमा पिसेर एउटा बाटामा खन्याउने। घिउ हालेर माडी–माडी मुछ्ने र एकछिन राख्ने । केही समयपछि बाँकी सम्पूर्ण सामग्री हालेर मुछ्ने । छोपेर रातभरि राख्ने र बाक्लो सेल पकाउने तावामा तेल हालेर तताउने । हात या सोलीको माध्यमले बिचमा केही तिंग या दियो राखी सेलरोटी पकाउने । यसरी तयार भएको सेलरोटी निकै स्वादिष्ट र क्रन्ची हुन्छ ।
रंगीन फिनी रोटी
रंगीन फिनी रोटी बनाउन चाहिने सामग्री : मैदा– ४ कप, चामलको पिठो– आधा कप, घिउ– ५ चम्चा, पानी– डो बनाउन आवश्यकताअनुसार, नुन–स्वादअनुसार, आइसिङ सुगर–आधा कप, तेल–फ्राई गर्न पुग्ने, फुड कलर–रातो, पहेँलो, हरियो, गुलाबी १–१ चिम्टी ।
विधि : चामल र मैदाको पिठो मिसाएर नुन र घिउ हाली माड्ने र तपाईंलाई कति कलरमा फिनी रोटी बनाउने हो, त्यतिवटा भाँडामा बराबर पिठो विभाजन गरी भिन्न–भिन्न ‘फुड कलर’ हाली आवश्यकताअनुसार पानी हाल्ने । डो मुछेर घटीमा १५–२० मिनेट छोपेर राख्ने । छुट्टाछुट्टै मुछेको पिठोलाई एक–एक गरी बेल्ने । बेलेको सबै रोटीमा थोरै मैदा, चामलको पिठो र तेलले बनाएको लेदो दल्ने । सबै बेलेको रोटीलाई एक–अर्कामाथि खप्टेर बिछ्याउने । अब सबै रोटीलाई एकसाथ समाएर रोल गर्ने र चक्कुले सानो–सानो पिसमा काटेर लाम्चो आकारमा बेल्ने । अब फिनी रोटीलाई तातेको तेलमा फ्राई गर्ने र यो पत्र–पत्र बनेर रंगीन देखिन्छ । नुनिलो मन पर्नेले यत्तिकै खाँदा हुन्छ भने गुलियो मन पर्नेले तातो–तातो पत्रे रोटीमा धुलो चिनी (आइसिङ सुगर) छर्केर खान सकिन्छ । यदि तपाईंलाई प्रोसेस गरेको फुड कलर प्रयोग गर्न मन छैन भने चुकन्दरको जुस, गाँजरको जुस, पालकको जुसजस्ता प्राकृतिक रंग हालेर पिठो मुछ्न सक्नुहुन्छ ।