सहिद इन्दिरा–राधा प्रथम वाइसिएल कप फुटबल प्रतियोगिताको उपाधि रतन्छालाई

मंगलबार, ५ कार्तिक, २०८२
डिजिटल संस्करण

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ७, दोर्पाचिउरीडाँडामा आयोजित ‘सहिद इन्दिरा–राधा प्रथम वाइसिएल कप फुटबल प्रतियोगिता–२०८२’को उपाधि साकेला गाउँपालिका– २, रतन्छाले चुमेको छ । ‘विचारसँगै खेलकुदमा युवा, सामाज रूपान्तरणमा वाइसिएलका युवा’ भन्ने नाराका साथ योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडाले आयोजना गरेको फुटबल प्रतियोगिताको  सोमबार सम्पन्न फाइनल खेलमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– २ सोल्मालाई ४–१ गोल अन्तरले पराजित गर्दै रतन्छाले उपाधि चुमेको हो ।

जिल्लाका विभिन्न स्थानीय तहका २६ टोलीले सहभागिता जनाएको वडास्तरीय फुटबल प्रतियोगितामा केपिलासगढी गाउँपालिका– ३ बास्पानी र साकेला गाउँपालिका– ५ मात्तिमले सेमिफाइनमा चित्त बुझाएको छ । स्थानीय दोर्पा खेलमैदानमा आयोजना गरिएको प्रतियोगिताका विजेता, उपविजेता तथा सेमिफाइनमा पुगेका दुईवटा टोलीलाई नगद पुरस्कार क्रमश: ३० हजार, २० हजार र दश–दश हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक वाइसिएल नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडाका अध्यक्ष उत्तम राईले जानकारी दिए ।

प्रतियोगिताको विधागततर्फ अनुशासित टोलीमा बास्पानी, उत्कृष्ट खेलाडीमा रतन्छाका बालकेसर राई, सर्वाधिक गोलकर्तामा साकेला फुटबल क्लबका अल्बर्ट राई, उत्कृष्ट मिडफिल्डरमा सोल्माका विकास राई, उत्कृष्ट डिफेन्डरमा सोल्माकै सनम राई, उत्कृष्ट गोलरक्षकमा रतन्छाका रितेस राई र उत्कृष्ट प्रशिक्षकमा रतन्छाकै एञ्जल राई घोषित भएको निर्णायकमण्डलले जनाएको छ । प्रतियोगिता अवधिभर अनुशासित टोली बास्पानीलाई नगद तीन हजार तथा अरूलाई रु. दुई–दुई हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई सहिद दिलकाजी–ठुलकुमार स्मृति प्रतिष्ठान नेपाल खोटाङका अध्यक्ष सुरेशकुमार राई, जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई ‘महेश’, वाइसिएल खोटाङका अध्यक्ष भूपेन्द्र किराँतीलगायतले संयुक्त रूपमा नगदसहितको पुरस्कार वितरण गरेका छन् । गत असोज ३० गतेबाट सुरु भएको फुटबल प्रतियोगिताको औपचारिक उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य दुर्गाजयन्ती राईले गरेकी थिइन् ।

तत्कालीन नेकपा माओवादीको १० वर्षे जनयुद्धका क्रममा तत्कालीन शाही नेपाली सेनाले गोली हानी हत्या गरेका सहिदहरू (इन्दिरा कार्की ‘हिमाली’ र राधा भुजेल ‘अनिशा’)को सम्मान तथा सम्झनामा वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । सिद इन्दिराको ०५९ असार ३१ गते खोटाङको टुवाखोलामा पति माओवादी खोटाङका नेता दिलकाजी कार्कीसहित तथा राधाको ०६३ जेठ १ गते सर्लाहीमा राज्यतर्फबाट अपहरण गरी यातना दिएर हत्या गरेको माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिए । 

वाइसिएल नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडाले आयोजना गरेको फुटबल प्रतियोगिताका लागि देश तथा विदेशमा रहेका शुभेच्छुकहरूले स्वस्फूर्त रूपमा पुरस्कार राशि तथा व्यवस्थापनका लागि आवश्यक खर्च उपलब्ध गराएको स्थानीयवासी एवं माओवादी केन्द्र प्रदेश समिति सदस्य रविन खम्बुले जानकारी दिए । वाइसिएल नेपाल वडा कार्यसमितिको आयोजनामा जिल्लामै पहिलोपटक वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेपछि खेलाडीहरूसमेत उत्साहित भएका छन्। 
 

See More On

सुझावित समाचार