मकवानपुरमा तिहारमा राति नाै बजेपछि देउसी–भैलो खेल्न रोक

सोमबार, ४ कार्तिक, २०८२
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस वर्ष तिहारको समयमा राति नाै बजेपछि देउसी–भैलो खेल्न रोक लगाएको छ । प्रशासनले एक सूचना जारी गर्दै राति नाै बजेसम्म मात्र देउसी–भैलो खेल्न अनुमति रहेको जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा देउसी–भैलोलगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक क्रियाकलाप राति नाै बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरिएको छ ।

प्रशासनले चाडपर्वको बहानामा पटाका, भुइँचम्पा, आतिसबाजीजस्ता प्रज्ज्वलनशील पदार्थको प्रयोग नगर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ । ती पदार्थले स्वास्थ्य, सुरक्षा र जनजीवनमा प्रतिकूल असर पार्ने भन्दै त्यसको भण्डारण, ओसारपसार, बिक्री–वितरण तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले स्पष्ट पारेको छ ।
त्यस्ता गतिविधिमा संलग्न हुने वा बिक्री–वितरण गर्ने व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

यसैगरी, चाडवाडको नाममा जुवा–तास खेल्ने, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने वा झैझगडा गर्नेजस्ता समाजमा अशान्ति फैल्याउने कार्य नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

सूचनामा नेपाल सरकारले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री–वितरण र भण्डारणमा पूर्ण रूपमा रोक लगाएको स्मरण गराउँदै त्यसको उल्लंघन गर्नेहरूमाथि पनि कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।

सुझावित समाचार