वैकल्पिक राजनीतिको वकालत गर्ने विभिन्न समूह र जेन–जीका धारहरूलाई एउटै छातामुनि गोलबद्ध गर्ने गृहकार्य सुरु गरिएको छ । विवेकशील साझा, रास्वपा, नयाँ शक्ति र अन्य जेन–जी समूहबिच बृहत् वैकल्पिक शक्ति निर्माणका लागि छलफल भइरहेको हो ।
आगामी २१ फागुनको निर्वाचनका लागि दल दर्ताको म्याद (कात्तिक मसान्त) अगावै निष्कर्षमा पुग्ने लक्ष्यसहित छलफल अगाडि बढाइएको छ । वैकल्पिक शक्तिहरू कसरी एकताबद्ध भएर अघि बढ्ने भन्ने विषयमा भएको छलफलको अगुवाइ रास्वपा छोडेकी पूर्वमन्त्री सुमना श्रेष्ठले गरेकी छिन् ।
उनले छलफलमा भ्रष्टाचार अन्त्य, समान अवसर सुनिश्चितता र डिग्निफाइड लिडरसिप (शालीन नेतृत्व) जस्ता आधारभूत एजेन्डामा सहमति भएको बताइन् । ‘छलफलमा सबै पक्षले भ्रष्टाचार अन्त्य गर्नुपर्छ, राज्यमा सबै नागरिकलाई समान अवसर सुनिश्चित हुनुपर्छ र नेतृत्व जिम्मेवार र मर्यादित हुनुपर्छ भन्नेमा सहमति जनाएका छन्,’ श्रेष्ठले भनिन्, ‘अब यी एजेन्डा कसरी संस्थागत गर्ने र त्यसका लागि एउटै छातामुनि कसरी गोलबद्ध हुने भन्ने विषयमा विभिन्न मत आएका छन् । थप छलफलपछि निचोडमा पुग्नेछौँ ।’
श्रेष्ठका अनुसार वैकल्पिक राजनीतिक समूहहरूसँग द्विपक्षीय छलफल भइरहेकै छ । शुक्रबार बहुपक्षीय रूपमा गरिएको छलफलमा जेन–जीका समूहहरूको उल्लेख्य सहभागिता थियो । उनका अनुसार २१ फागुनमा हुने निर्वाचनका लागि आयोगले नयाँ दल दर्ताका लागि तोकेको कात्तिक मसान्तसम्मको समयभित्रै निष्कर्षमा पुग्ने प्रयत्न छ । ‘एजेन्डामा सबैजना प्रस्ट छन् । हरेक आन्दोलनपछि एउटा निकास दिनुपर्छ । जनताले आशा गरेर व्यक्तिहरूलाई एउटै छातामा अटाउनुपर्छ भनेर कोसिस गरिरहेका छौँ । चाँडै नै निष्कर्षमा पुग्छौँ ।’
रास्वपा केन्द्रीय सदस्य तथा संवाद समिति सदस्य गणेश कार्कीले वैकल्पिक राजनीतिक शक्तिहरूबिच एकता आवश्यक रहेको साझा धारणा बनेको बताए । उनका अनुसार बृहत् वैकल्पिक एकता सम्भव बनाउन व्यक्तिगत स्वार्थ र पदत्याग गर्न तयार हुने भावना सहभागीहरूमा देखिएको छ ।
छलफलमा जेन–जी युवाहरूले वैकल्पिक शक्तिहरू एकजुट हुनुको विकल्प नरहेको बताएका थिए । तर, रवि लामिछानेको नेतृत्वमा अगाडि बढ्न नसकिने उनीहरूको धारणा थियो । ‘रास्वपाको अहिलेकै नेतृत्वमा अगाडि बढ्दा रवि लामिछानेको सहकारी ठगी आरोपको भारी बोक्नुपर्छ । त्यो बोकेर कसरी अगाडि बढ्न सक्छौँ ?’ जेन–जी जेम्स कार्कीले भनेका थिए । सयुजनराज भण्डारी समूहका जेन–जीले भनेका थिए, ‘रविजीले वैकल्पिक राजनीतिलाई यहाँसम्म ल्याइसक्नुभएको छ, कार्यकारी पद त्यागेर संरक्षकमा बस्नुभयो भने सर्वस्वीकार्य हुन्छ । उहाँको आरोपको भारी नै बोकेर जान सकिँदैन ।’
रास्वपा केन्द्रीय सदस्य कार्कीले सभापति लामिछाने संरक्षक भएमा जेन–जीको बहुसंख्यक पक्ष रास्वपाकै छाताभित्र गोलबद्ध हुन तयार भएजस्तो धारणा छलफलमा आएको बताए । ‘यसमा जेन–जी समूहहरू रेडी छन् । त्यो भनेको ठुलो शक्ति हुन्छ । उहाँलाई सम्मानित पदमा राखेर सबै जोडिने सम्भावना रहन्छ,’ कार्कीले भने । यो विकल्पबारे सभापति लामिछाने जानकार रहेको र वैकल्पिक शक्ति मिल्नुपर्छ भन्ने कुरामा सकारात्मक रहेको कार्कीले बताए ।
रन्जु दर्शनासँगै छलफलमा सहभागी विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले सबैले आ–आफ्नो ठाउँबाट त्याग गरेर आन्दोलनलाई संस्थागत गर्नुपर्ने धारणा राखेका थिए । ‘हामी समान विचार भएका मिल्नुपर्छ । यो मुभमेन्टमा कसैले केही छोड्नुपर्ने भयो भने त्याग गर्न तयार हुनुपर्छ । वैकल्पिक राजनीतिको संस्थापकको हिसाबले विवेकशील जस्तोसुकै त्याग गर्न तयार छ । त्याग र एकताविना परिवर्तन सम्भव छैन । विवेकशील र मैले गर्छु,’ उनले भनेका थिए ।
कलाकारहरू निश्चल बस्नेत, मीन भाम र निशा अधिकारीलगायत छलफलमा थिए । बस्नेतले वैकल्पिक शक्ति एक ठाउँमा आए काठमाडौंका मेयर बालेन्द्र शाहले पनि समर्थन गर्ने जानकारी गराए । ‘बालेनले सबै एक ठाउँमा आए सपोर्ट गर्छु भन्नुभएको छ,’ उनले भने । बस्नेतले सुशासनको अभियानका लागि आफूले फिल्म क्षेत्र त्याग गर्न तयार रहेको बताए । निर्देशक मीन भामले वैकल्पिक राजनीतिका लागि जस्तोसुकै योगदान गर्ने बताए । ‘म तपाईंहरूसँगै छु । मिलेर वैकल्पिक राजनीतिलाई मूलधारमा स्थापित गरौँ । यसका लागि परिआए यो कित्तामा म तयार छु,’ उनले भने ।
सुधन गुरुङ समूहका जेम्स कार्कीले जेन–जीहरू मिलेरै अघि बढ्न चाहेको बताए । ‘सबै मिलेर जानुपर्छ । सबैजना एक ठाउँमा आऊँ । हामी जेन–जी साथीहरू एक ठाउँमा आउन प्रयत्न गरिरहेका छौँ । एक ठाउँमा लिएर आउँछौँ,’ उनले भने । बालेनकी पूर्वसल्लाहकार रेशु अर्यालले वैकल्पिक शक्ति एकजुट हुनुपर्ने, बालेन फ्रन्टलाइनमा आउनुपर्ने धारणा राखेकी थिइन् ।
इन्जिनियर सागर ढकालले वैकल्पिक धारका सबै मिल्नुको विकल्प नभएको बताए । ‘सबैजना एउटा ठाउँमा पुगौँ, मिलौँ । मिल्नुको विकल्प छैन,’ उनले भने । डाक्टर रामजी रामले भने, ‘वैकल्पिक शक्ति मिल्नुको विकल्प छैन । डेलिभरी दिनुपर्छ । समतामूलक देश बनाउनुपर्छ ।’ छलफलमा कलाकार निशा अधिकारीले सहजीकरण गरेकी थिइन् ।