हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदन (एमबिबिएस)ले दसैँ–तिहार बिदालाई सिर्जनशील बनाउँदै विद्यार्थीलाई जीवन उपयोगी सिप र व्यावहारिक ज्ञान दिने उद्देश्यले ‘स्किल क्याम्प’ सञ्चालन गरेको छ ।
विद्यालयले १० दिनसम्म सञ्चालन गरेको उक्त क्याम्पमा विद्यार्थीले परम्परागत सिपदेखि अत्याधुनिक प्रविधिसम्म सिक्ने अवसर पाएका छन् । क्याम्पको अन्तिम दिन विद्यार्थीहरूले आफैँले बनाएका सामग्री प्रदर्शन गरेका थिए। प्रदर्शनीमा मकैको खोस्टाको चकटी, परालको गुन्द्री, सालको पातको टपरीजस्ता परम्परागत वस्तुका साथै आधुनिक प्रविधि प्रयोग गरी बनाइएका स्वचालित डस्टबिन, दृष्टिविहीनका लागि सेन्सर डिटेक्ट छडी, वेदर स्टेसन र एलपी ग्यास लिकेज पत्ता लगाउने अलार्म यन्त्र राखिएका थिए।
विद्यार्थीहरूले मैनबत्ती बनाएर बिक्रीसमेत गरेका छन् भने फोहोर कागज पुनः प्रयोग गरी नयाँ कागज र निमन्त्रणा कार्ड बनाएका छन् । विद्यालयले वातावरणमैत्री अभ्यासलाई प्रोत्साहन गर्दै कम्पोष्ट मल निर्माण गरेको छ, जहाँ विद्यार्थीहरूले जैविक फोहोर संकलन गरी गड्यौलाको मल उत्पादन गर्ने सीप सिकेका छन् ।
विद्यालयका प्रधानाध्यापक सुदीपराज गिरीका अनुसार क्याम्पको उद्देश्य विद्यार्थीमा आत्मनिर्भरता, जिम्मेवारी र सिर्जनशीलता विकास गर्नु हो । ‘हामीले एक कक्षा, एक सीप सिद्धान्तअनुसार विद्यार्थीको शिक्षणसँगै परम्परागत सीप र ज्ञानलाई व्यवहारमा लागु गर्न प्रेरित गर्ने कोसिस गरेका छौँ,’ उनले भने, ‘विद्यार्थीले सिलाइ–बुनाइदेखि रोबोट निर्माण र धान खेतीसम्मका सीप सिकेका छन् ।’
प्रधानाध्यापक गिरीका अनुसार विद्यालयले विद्यालय परिसरमै विद्यार्थीहरुलाई खेत उपलब्ध गराएर धान खेति गर्नेदेखि काट्ने, चुट्ने, थन्क्याउनेसम्मका सीप प्रदान गरिएको छ ।
कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थी कुशल खड्का विद्यालयबाट थुप्रै व्यावहारिक ज्ञान प्राप्त गरेको सुनाउँछन् । उनका अनुसार कक्षा ९ का विद्यार्थीले यस वर्ष विद्यालयको आर्थिक सहयोगमा मैनबत्ती बनाउने सिपलाई व्यवहारमा उतारेका छन् ।
उनीहरू मैनबत्ती मात्रै बनाउँदैनन् । त्यसको प्याकेजिङ र मार्केटिङ पनि गरिरहेका छन् । उनीहरूले विद्यालयले आयोजना गरेको स्किल क्याम्पमा आफूहरूले उत्पदान गरेको मैनबत्ती बिक्री गरेको बताए । मैनबत्ती उत्पादन, प्याकेजिङ, लेबलिङ र मार्केटिङबाट आफूहरूले भविष्यमा आर्थिक उपार्जनमा कसरी संलग्न हुन सकिन्छ भन्ने ज्ञान प्राप्त गरेको कुशलले बताए ।
विद्यालयले सञ्चालन गरेको स्किल क्याम्प अवलोकन गर्न आएका अभिभावक छवि श्रेष्ठले आफ्ना नानीबाबुहरूलाई विद्यालयले दिएको व्यावहारिक ज्ञानबाट खुसी लागेको बताए । ‘घरमा सिकाउन नसकिएका सिप विद्यालयले सिकाइरहेको छ, जसले बच्चाको पढाइलाई रमाइलो र अर्थपूर्ण बनाएको छ,’ उनले भने ।
विद्यालयमा ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयको यस्तो प्रयोगले शिक्षालाई जीवनसँग जोड्ने उदाहरण प्रस्तुत गरेको क्याम्प अवलोकनमा पुगेका हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामाले बताइन् ।