पोखरामा हतियार देखाई विदेशी नागरिकलाई अभद्र व्यवहार गर्ने दुई पक्राउ

आइतबार, ३ कार्तिक, २०८२
डिजिटल संस्करण

धारिलो हतियार देखाई विदेशी नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले कास्कीबाट दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ बस्ने २४ वर्षीय नवीन विक र तनहुँको व्यास नगरपालिका– ५ बस्ने २१ वर्षीय विशाल दर्लामी रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।

उनीहरूले आइतबार बिहान अन्दाजी ०९ः१० बजेको समयमा पोखरा महानगरपालिका–२२ अन्दुडाँडाको जंगलमा एक्लै हिँडिरहेका जर्मन नागरिक ६७ वर्षीय यन्स पिटर मार्टिनलाई खुकुरी देखाई हातपात गरी अभद्र व्यवहार गरेका प्रहरीले जनाएको छ। सोबारे सूचनापछि तत्काल वडा प्रहरी कार्यालय पोखरा– ६, बैदामबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धानपछि दुवैजनालाई पक्राउ गरेको बस्नेतले जानकारी दिए।

पक्राउ परेका उनीहरूलाई प्रहरीले एक थान खुकुरीसहित नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

सुझावित समाचार