‘राष्ट्रिय लघुत्तम् चलचित्र महोत्सव’मा उत्कृष्ट प्रथम लघु फिल्म ‘संगिनी’ र उत्कृष्ट निर्देशकमा ‘कलर अफ टी’का निर्देशक राज सरगम घोषित भएका छन्।
गत बिहीबार राष्ट्रिय नाचघरमा रेडियो नेपालका प्रथम गायक, रंगकर्मी, अभिनेता तथा गीतकार स्वर्गीय हरिप्रसाद रिमालको १०१औँ जन्मजयन्तीको अवसरमा हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले सम्मान प्रदान गरेको हो।
प्रतिष्ठानका सदस्य सचिव सम्राट सापकोटाका अनुसार दुई दर्जन लघु चलचित्रमध्ये प्रतिष्पर्धाका लागि नौ चलचित्र छानिएका थिए। उनले भने, ‘गुरु हरिप्रसाद रिमाल अभिनेता पनि भएकाले छोटो चलचित्रको महोत्सव पनि आयोजना गरिएको हो। यो महोत्सवले नयाँ भाइबहिनीलाई इनकरेज गर्ने छ।’
उत्कृष्ट तीन चलचित्रमा विनोद लोहार निर्देशित ‘संगिनी,’ राज सरगम निर्देशित ‘कलर अफ टि’ र सुरेश पोर्तेल निर्देशित ‘अन्तिम राप’ छन्। जसलाई प्रतिष्ठानले क्रमशः नगद एक लाख, ५० हजार र २५ हजारसहित सम्मान गरेको हो।
व्यक्तिगततर्फ उत्कृष्ट सम्पादन, उत्कृष्ट लेखक, निर्देशक, अभिनेता, अभिनेत्री, क्यामेराम्यान र सम्पादक गरी ६ विधाकाले जनही १५ हजार रुपैयाँ र सम्मानपत्र दिएको थियो। निर्णायकमा रंगकर्मी, कलाकार तथा निर्देशक हरिहर शर्मा, पहिलो नेपाली नायिका भुवन चन्द र रेडियोकर्मी तथा कलाकार मदनदास श्रेष्ठ रहेका थिए।
यसैगरी प्रतिष्ठानले नाट्यसंगीत तथा पत्रकारितामा योगदान पुर्याउने स्रष्टालाई पनि सम्मान गरेको छ। प्राध्यापक डा. बासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गायिका मिरा राणा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र गायक धिरज राईलाई जनही एक लाख र सम्मानपत्रले सम्मानित गरिएको हो।
खरेललाई प्रतिष्ठानले सम्मान गर्ने निर्णय उनी मन्त्री हुनु अगाडि नै गरेको थियो। असोजको २ गते गरिने भनिएको कार्यक्रम जेन्जी आन्दोलनका कारण पछाडि सरेको थियो।
कार्यक्रममा ९४ वर्ष लागेकी हरिप्रसाद रिमालकी धर्मपत्नी कल्याणी रिमालको पनि उपस्थिति थियो।