जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सरकारले निर्धारण गरेकोभन्दा कम मूल्यमा धान खरिद-बिक्री नगर्न आग्रह गरेको छ। कञ्चनपुर प्रशासनले चालू आर्थिक वर्ष ०८२-८३ मा संघीय सरकारले तोकेको धानको सर्मथन मूल्यभन्दा कममा धान खरिद र बिक्री नगर्न/नगराउन भनेको हो।
गत २६ साउनमा मन्त्रिपरिषद्को बैठकले समर्थन मूल्य निर्धारण गरेको थियो। जसअनुरूप मोटा धान प्रतिक्विन्टल ३ हजार ४६३ र मध्यम धानको ३ हजार ६२८ निर्धारण गरेको छ। तर, कञ्चनपुरमा किसानले सरकारले तोकेभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएको गुनासो बढेपछि स्थानीय प्रशासनले चासो देखाएको हो।
आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सरकारले धानको मूल्य दुई महिनाअघि नै निर्धारण गरेकाले सोभन्दा कम मूल्यमा खरिद नगर्न व्यवसायीहरूलाई सचेत गराएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समयमै धान खरिद नगरेपछि कञ्चनपुरका किसान दीपावली खर्च जुटाउन सस्तोमै धान बिक्री गर्न बाध्य छन्।