पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सुशीला कार्कीलाई आफूले प्रधानमन्त्री सिफारिस गरेको प्रमाण सार्वजनिक गर्न प्रचण्डलाई चुनौती दिएका छन्।
आइतबार सम्पादकहरूसँगको अन्तर्क्रियाका क्रममा ओलीले भने, ‘सुशीला कार्कीजीको मैले कतै सिफारिस गरेको छु भने त्यो फ्ल्यास गरिदिए हुन्छ । प्रचण्डजीसँग प्रमाण छ भने निकाले भयो नि केको क्युरोसिटी राख्नुपर्छ र।’
वर्तमान अन्तरिम सरकार संविधानअन्तर्गत नबनेको तर्क गर्दै ओलीले आफूले राष्ट्रपतिको आग्रहमा ‘उपयुक्त निकासका लागि आवश्यक कदम चाल्न’ सिफारिस गरेको स्पष्ट पारे।
ओलीका अनुसार यस्तो छ उनले राष्ट्रपतिसमक्ष गरेको सिफारिस
वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिमा परिस्थितिलाई नियन्त्रण गरेर संविधान र लोकतान्त्रिक परिपाटी र शान्तिपूर्ण स्थितिमा फर्काउनुपर्ने आवश्यकता भएकाले यसको समाधान संविधान र लोकतान्त्रिक प्रणालीभित्रबाटै खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधानभित्रबाट अहिलेको परिस्थितिको उपयुक्त निकासका लागि आवश्यक कदम चाल्न सिफारिस गर्दछु।