एर्लिङ हाल्यान्ड चम्किएपछि इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शनिबार राति एभर्टनलाई २–० ले पराजित गरेको छ । सिटीको जितमा दुवै गोल हाल्यान्डले गरेका हुन् । यो जितपछि सिटी २४ घण्टाका लागि शीर्ष स्थानमा उक्लिएको छ । आठमध्ये पाँच खेल जितेको सिटी १६ अंकसहित शीर्ष स्थानमा चढ्यो ।
एक खेल कम खेलेको आर्सनल १५ अंकसहित दोस्रो स्थानमा रह्यो । लिभरपुर १५ अंकसहित तेस्रो स्थानमा झरेको छ । आइतबार राति म्यानचेस्टर युनाइटेडलाई हराएर लिभरपुल पुनः शीर्ष स्थानमा फर्किनेछ । यदि लिभरपुलको हार र बराबरीले भने सिटी नै शीर्ष स्थानमा रहनेछ । पराजित एभर्टनल आठ खेलबाट ११ अंकसहित दसौँ स्थानमा छ ।
इत्तिहाद मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको थियो । दोस्रो हाफमा पेप ग्वार्डिओलाको टिमले अग्रता बनाएको हो । ६३औँ मिनेटमा हाल्यान्डले पहिलो गोल गरेका हुन् । उनले रेइलीको पास सदुपयोग गरेका थिए । साभिन्होले ६३औँ मिनेटमा मिलाएको पासलाई सदुुपयोग गर्दै हाल्यान्डले २–० को सहज जित दिलाएका हुन् । उनले पछिल्लो प्रिमियर लिगको आठ खेलमा ११ गोल गरिसकेका छन् । यो सिजन सबैखाले प्रतियोगितामा १३ खेल खेल्दा २३ गोल गरिसकेका छन् । राति नै भएको अन्य खेलमा ब्राइटनले न्युक्यासललाई २–१, बर्नलीले लिड्सलाई २–० तथा सन्डरल्यान्डले उल्भ्सलाई २–० ले हराए । क्रिस्टल प्यालेस र बर्नामाउथले ३–३ को बराबरी खेलेका छन् ।
चेल्सीको सहज जित
प्रिमियर लिगमै शनिबार १० खेलाडीमा सीमित चेल्सीले नटिङ्घम फरेस्टविरुद्ध ३–० को सहज जित निकाल्यो । चेल्सीको जितमा जोस अचेम्पोङ, पेड्रो नेटो र रिस जेम्सले गोल गरेका थिए । ८७औँ मिनेटमा मालो गुस्टोले दोहोरो पहेँलो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । जितसँगै आठ खेलमा १४ अंक जोडेको चेल्सी छैटौँ स्थानमा छ । पराजित नटिङ्घम समान खेलबाट पाँच अंकका साथ १९औँ स्थानमा झर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ४९औँ मिनेटमा अचेम्पोङको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । तीन मिनेटपछि नै नेटोले सुन्दर गोल गर्दै २–० को अग्रता बनाएका हुन् । निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा जेम्सले चेल्सीका लागि तेस्रो गोल गरे ।