खाँदबारी नगरपालिका–३ मानेभञ्जाङ्गमा जारी छैंटौँ मानेभञ्जाङ्ग फुटबल कप प्रतियोगिताको उपाधि सभापोखरी स्र्पोटिङ क्लबले जितेको छ । आज सम्पन्न फाइनल खेलमा सभापोखरीले ४–० को फराकिलो अन्तरमा सेकाहा सामुदायिक विकास क्लबलाई पछि पार्दै जित हासिल गरेको हो ।
सभापोखरीले सुरु देखि नै लगातार खेलमा सशक्त भूमिका निर्वाह गरेको थियो । हाफटाइम अगाडि २ गोल र हामटाइमपछि २ गोलगरी ४ गोल गरेका हुन् । सेकाहाले एकै गोल पनि फर्काउन नसकेपछि उपविजेतामा चित्त बुझाए ।
२८ असोजदेखि सुरु भएको प्रतियोगिता आज समापन भएको हो । ‘सामाजिक सद्भावका लागि युवा एकता–विकृति, विसंगतिकाविरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता’ भन्ने नारासहित सुरु भएको प्रतियोगितामा जिल्लाभित्रका २० वटा क्लबले सहभागीता जनाएका थिए । समापत समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले खेललाई पूर्ण व्यावसायिक ढंगले खेल्न खेलाडी र क्लबहरूलाई अनुरोध गरे । उनले यसवर्ष जसरी पनि कोशी प्रदेशमा प्रदेश स्तरीय लिग गेम गराएरै छोडने समेत प्रतिबद्धता व्यक्त गरे ।
प्रतियोगिताका विजेता सभापोखरीले एक लाख, ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता सेकाहा क्बलले ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी सेमिफाइनलिस्ट दुई टिम भोटिया क्लब र मानेभञ्जाङ क्लबले २०÷२० हजार रुपैयाँ प्राप्त गरेका थिए ।