कपिलवस्तुमा ०४६ सालअघिका नागरिकता अभिलेखहरू डिजिटल रूपान्तरण गर्न थालिएको छ । हातले लेखिएका, धमिलो भएका र मसी उडेका अभिलेखहरूलाई मोबाइल एपमार्फत स्क्यान गरी स्थायी रूपमा सुरक्षित राख्न डिजिटल अभिलेखिकरण सुरु गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले क्याम–स्क्यानर मोबाइल एप्स प्रयोग गरी तीन महिनामा ५० हजारभन्दा बढी नागरिकता अभिलेख डिजिटल रूपान्तरण गरिसकेको जनाएको छ । ‘दशकौंअघिका नागरिकता रेकर्डहरू धमिलो र क्षतिग्रस्त अवस्थामा थिए, कतिपय त पढ्नै गाह्रो भइसकेका थिए,’ प्रमुख जिल्ला प्रमुख अधिकारी दिलकुमार तामाङले भने, ‘अब ती सबै अभिलेखहरू सुरक्षित डिजिटल फाइलमा रूपान्तरण भएपछि हराउने, बिग्रने जोखिम हुँदैन ।’
तामाङका अनुसार ०४६ सालपछि बनाएका अभिलेखहरू नेपाली कागजमा भएकाले अझै सुरक्षित छन् । तर त्यसअघिका अभिलेखहरू अत्यन्तै जीर्ण अवस्थामा रहेकाले तत्काल डिजिटल प्रणालीमा रूपान्तरण गर्नु आवश्यक देखिएको बताएका छन् ।
शनिबार र बिदाको दिन पनि स्क्यान
अभिलेख स्क्यान गर्न जिल्ला प्रशासनले ६ जना कर्मचारी खटाएको छ । नियमित प्रशासनिक सेवामा असर नपरोस भनेर उनीहरूले शनिबार र बिदाको समयमा स्क्यान गर्दै आएका छन् । स्क्यानमा संलग्न नासु रुद्रप्रसाद पन्थीका अनुसार सामान्य दिनमा कामको चाप धेरै हुने भएकाले बिदाको समयमा समेत काम भइरहेको छ । ‘अहिले ती सबै अभिलेख डिजिटल फाइलमा सुरक्षित भइसकेका छन्,’ उनले भने, ‘अघिसम्म पुराना रजिस्टर पल्टाएर खोज्नु पर्थ्याे । अब भने कम्प्युटरबाट एक क्लिकमै रेकर्ड देखिन्छ ।’
बुद्धभूमिबाट छोरीको नागरिकता बनाउन आएका सेवाग्रही रुदलाल बन्जाडे भन्छन्, ‘अहिले रेकर्ड तुरुन्तै भेटिन्छ, प्रतिलिपि निकाल्न पनि सजिलो भएको छ । यो प्रणालीले सेवाग्राहीलाई धेरै सहज भएको छ ।’
थप अभिलेख डिजिटाइज हुँदै
कार्यालयले पछिल्लो एक महिनादेखि हातहतियार इजाजतपत्र र संस्था दर्ताका पुराना अभिलेखहरू पनि डिजिटल प्रणालीमा रूपान्तरण गरिरहेको छ ।
प्रमुख जिल्ला अधिकारी तामाङले पदभार ग्रहण गरेपछि जिल्ला प्रशासन कार्यालयमा टोकन प्रणालीमार्फत सेवा वितरण, अभिलेख डिजिटाइजेसन र जीर्ण फाइल व्यवस्थापन लगायतका हुन थालेको छ । ‘हामीले सेवा ढिलो हुने र कागज हराउने जस्ता समस्या अन्त्य गर्न डिजिटल प्रणालीलाई प्राथमिकतामा राखेका छौँ । अहिले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रजस्ता सेवामा पनि पारदर्शिता र छिटोछरितो सेवा सुनिश्चित गर्न सफल भएको छौं,’ प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भने ।