जेन-जी आन्दोलनका अगुवा मिराज ढुंगानाले देशको समृद्धि र अग्रगामी परिवर्तनका लागि अब विकासको राजनीतिमा लाग्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले भदौ २३ र २४ मा भएको ऐतिहासिक विद्रोहमा ७६ जनाको बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न सबैले गम्भीर बन्नुपर्ने बताएका हुन्।
शनिबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले अब क्रान्तिको होइन, विकासको युग सुरु भएको उल्लेख गरे।
‘देशको लागि लड्न एकदमै जरुरी छ। अहिले जे भयो भयो, एक लेबलको क्रान्ति आयो, अब विकास आउँछ। हामी क्रान्तिकारी होइनौँ, विकासवादी हौँ,’ ढुंगानाले भने। उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिलाउनुपर्ने माग पनि दोहोर्याए।
‘तीन करोड नेपालीमा ८० लाख नेपाली छुटाएपछि देश कतातिर जान्छ ? देशको मुख्य आम्दानीको स्रोत रेमिट्यान्स हो । रगत, पसिना बगाएर विदेशमा बस्ने नेपालीलाई मतदान अधिकार नदिई निर्वाचनमा जानु अन्याय हुनेछ,’ उनले भने।
ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको माग गर्दै यो माग पूरा नहुँदासम्म आफूहरू चुनावमा नजाने चेतावनी पनि दिए।