कपिलवस्तुमा कुष्ठरोग निवारणको घोषणा १३ वर्षपछि पनि बिरामी बढ्दै, नियन्त्रणमा चुनौती

शनिबार, २ कार्तिक, २०८२
डिजिटल संस्करण

कपिलवस्तु जिल्लामा १३ वर्षअघि कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि रोगीको संख्या पछिल्ला वर्षहरूमा बढ्दै गएको छ । रोग शून्यमा झार्ने अभियान वर्षौंदेखि चलिरहँदा पनि कपिलवस्तुमा कुष्ठरोगीको संख्या घट्नुको साटो बढ्दै गएपछि स्वास्थ्यकर्मीहरूले यसलाई गम्भीर चुनौतीका रूपमा लिएका छन् । 

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका क्षयकुष्ठ निरीक्षक मोहम्मद इरफानका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा प्रति १० हजार जनसंख्यामा १.८ को दरले एक सय २८ नयाँ कुष्ठरोगी फेला परेका छन्। यो दर राष्ट्रिय औसत ०.८८ भन्दा दोब्बर हो

गत वर्ष मात्रै ७५ पुरुष र ५३ महिला गरी एक सय २८ जना बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७९/ ८० मा २.१ प्रतिशतका दरले एक सय ६७ जना नयाँ बिरामी भेटिएको र जसमा १४ वर्ष मुनिका ४ बालबालिका र ४ जना अपांगता भएको बताएको छ ।   यस्तै २०७८/७९ मा १.८ प्रतिशतका दरले एक सय २३ जना र २०७७/७८ मा १.९ प्रतिशतका दरले एक सय २८ जना नयाँ कुष्ठरोगी फेला परेको बताएको छ ।  

जिल्लाबाट १३ वर्षअघि कुष्ठरोग निवारण भएको घोषणा गरिएको भए पनि पछिल्ला नौ वर्षदेखि बिरामी संख्या बढ्दो क्रममा रहेको छ। स्वास्थ्यकर्मीहरूका अनुसार अशिक्षा,जनचेतनाको अभाव र भारतसँगको खुला सीमाका कारण ओहोरदोहोर बढ्दा रोग नियन्त्रण कठिन बनेको बताएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालका अनुसार भारतसँगको खुला सिमाना र समाजमा कुष्ठरोगप्रति रहेको डर तथा लान्छना रोग नियन्त्रणका प्रमुख चुनौती हुन्। उनले भने, ‘नियमित रूपमा औषधि सेवन गरे यो रोग पूर्ण रूपमा निको हुन्छ, तर समाजको डरले धेरै बिरामी लुक्ने गर्छन्।’ ढकालका अनुसार, कपिलवस्तुमा समुदायस्तरमा खोजी अभियान र छाला शिविरहरू सञ्चालन गर्दा लुकेर बसेका थुप्रै केसहरू बाहिर आएका छन्। उनले भने,‘कहिलेकाहीँ एउटै घरका तीनजनासम्ममा कुष्ठरोग देखिने गरेको छ ।’

स्वास्थ्यकर्मीहरूले कुष्ठरोगलाई सामान्य उपचारयोग्य रोगका रूपमा बुझ्न आग्रह गर्दै जनचेतना अभिवृद्धिको आवश्यकता औंल्याएका छन्। ढकाल भन्छन, ‘यो पनि अन्य रोगझैं सामान्य रोग हो, देवी–देवताले श्राप दिएको होइन धनी–गरिब, महिला–पुरुष, सबैलाई लाग्न सक्छ ।’सरकारले निःशुल्क औषधि उपलब्ध गराइरहेको भए पनि धेरै बिरामी समाजको डरले घरमा औषधि सेवन गर्न हिच्किचाउँछन् र कतिपयले बाहिरी जिल्ला गएर औषधि लिने गरेको पाइएको छ ।’

ढकालका अनुसार,‘कुष्ठरोगले तत्काल मृत्यु त गराउँदैन, तर समयमै उपचार नभए अंगभंग गराउने र जीवन असहज बनाउने भएकाले प्रारम्भिक चरणमै पहिचान र उपचार अत्यावश्यक रहेको बताएको छ ।’   मुलुकबाट ०६६ माघ ५ मा जनस्वास्थ्य समस्याबाट राष्ट्रिय स्तरमै कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो । तर कपिलवस्तुमा नौ वर्षदेखि बिरामी बढ्दै गएको पाएको छ ।  
 

सुझावित समाचार