कांग्रेस पदाधिकारीबिच विवाद : केन्द्रीय समितिमा पेस हुन सकेन महामन्त्री थापाको महाधिवेशनसम्बन्धी प्रस्ताव

शनिबार, २ कार्तिक, २०८२
डिजिटल संस्करण

विधानअनुसार मंसिरमा १५औँ महाधिवेशन गराउन कांग्रेस महामन्त्री गगन थापाले विभिन्न विकल्पसहित अघि सारेको प्रस्ताव पदाधिकारीबिचको मतभेदले रोकिएको छ । नियमित महाधिवेशनका लागि दुई विकल्प र त्यसो हुन नसके विशेष महाधिवेशनमा जानुपर्नेसहितको प्रस्ताव थापाले बिहीबार केन्द्रीय कार्यसम्पादन समितिमा राखे पनि पदाधिकारीबिचको विवादले शुक्रबार केन्द्रीय समिति बैठकमा पेस हुन सकेन ।

विधानअनुसार केन्द्रीय समितिमा कुनै प्रस्ताव पेस गर्न सभापतिको अनुमति चाहिन्छ । अहिले कार्यवाहक सभापति पूर्णबहादुर खड्का छन् । बिहीबार महामन्त्री थापाले तीनबुँदे प्रस्ताव ल्याउँदा कार्यवाहक सभापति खड्कासहित बहुमत कार्यसम्पादन समिति सदस्यले केन्द्रीय समितिको म्याद थप्ने प्रस्ताव पनि सँगै लैजानुपर्ने धारणा राखेका थिए ।

महाधिवेशन पछाडि धकेल्ने गरी केन्द्रीय समितिको म्याद थप्ने प्रस्तावलाई महामन्त्री थापाले अस्वीकार गरेपछि बहुमत सदस्यले उनको प्रस्ताव अघि बढाउन स्वीकृति दिएनन् । जसका कारण विकल्पसहितको प्रस्ताव केन्द्रीय समितिमा पेस हुन नसकेको नेताहरूले बताएका छन् ।

केन्द्रीय सदस्य डिला संग्रौलाले महामन्त्रीको प्रस्ताव केन्द्रीय कार्यसमितिमा नआएको बताइन् । ‘महामन्त्रीले कार्यतालिका केन्द्रीय कार्यसम्पादन समितिमा पेस गर्नुभएको रहेछ । त्यो एजेन्डा होइन भनेर केन्द्रीय समितिमा ल्याउन दिएनन्,’ उनले भनिन्, ‘मंसिरभित्र नै महाधिवेशन सम्पन्न गर्नुपर्छ । र, कार्यतालिका सार्वजनिक हुनुपर्छ भन्ने हाम्रो भनाइ छ ।’

विधानअनुसार कांग्रेसको १५औँ महाधिवेशन चारवर्षे नियमित कार्यकालअनुसार आगामी मंसिरभित्र भइसक्नुपर्छ । तर, एक वर्ष थप्न पाउने अधिकार सभापतिलाई छ । संस्थापन पक्ष मंसिरभित्र महाधिवेशन गर्न सम्भव नभएको र चुनावको मुखमा महाधिवेशन गर्दा अन्तरघात हुने भन्दै केन्द्रीय समितिको म्याद एक वर्ष थप्ने पक्षमा छ । तर, महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला पक्ष नियमित महाधिवेशनका लागि आवाज उठाइरहेका छन् । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने उनीहरूको मत छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले महामन्त्रीले कार्यसम्पादन समितिमा महाधिवेशन कार्यतालिका प्रस्तुत नगरेको दाबी गरे । ‘महामन्त्रीले कार्यसम्पादन समितिमा कार्यतालिका पेस गर्नुभएको छैन । मंसिरभित्र गर्ने गरी खाका बनाएको छु भन्नुभएको हो,’ महतले भने, ‘केन्द्रीय समितिमा १५औँ महाधिवेशन कुन मितिमा कसरी गर्ने भन्नेबारे छलफल ओपन गरेको छ । कुनै कार्यतालिका पेस भएको छैन । कार्यसम्पादनबाट समझदारी गरेर आएपछि पेस होला ।’ प्रवक्ता महतले महाधिवेशनबारे केन्द्रीय समितिमा अलग–अलग मत आएको पनि बताए ।

शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश सदस्यले मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने र गर्न सकिने धारणा राखेका छन् । त्यसमध्ये शुक्रराज शर्मा, भरतकुमार शाह, प्रदीप पौडेल, डा. गोपाल दहित, डा. चन्द्रमोहन यादव, दिलेन्द्रप्रसाद बडू, डा. डिला संग्रौला, अर्जुनप्रसाद जोशी, मुक्ताकुमारी यादव, मैकुलाल वाल्मिकी, सञ्जयकुमार गौतमलगायतले नियमित महाधिवेशनमा जोड दिएका हुन् ।

महाधिवेशन प्रतिनिधिले वैधानिक तवरले माग गरेको विशेष महाधिवेशनलाई हल्का रूपमा नलिन उनीहरूले नेतृत्वलाई सचेत गराएका छन् । समयमा नै नियमित महाधिवेशन गर्दा मात्रै विशेष महाधिवेशन मागकर्ताको विषय सम्बोधन हुन सक्ने भएकाले यो विषयलाई बेवास्ता नगर्न उनीहरूको जोड थियो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, पुष्पा भुसाल, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ, आमन्त्रित सदस्य नारायणी रायमाझी र आमन्त्रित प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), शुक्रराज शर्मा (गण्डकी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम)ले धारणा राखेका थिए । २८ असोजदेखि जारी केन्द्रीय समिति बैठक शनिबार १ बजे बस्नेछ ।

महामन्त्री थापाको प्रस्तावमा के छ ? 
यही सन्दर्भमा महामन्त्री थापाले बिहीबार केन्द्रीय कार्यसम्पादन समितिमा तीनवटा विकल्प राखेर प्रस्ताव पेस गरेका हुन् । थापाले पहिलो विकल्पमा मंसिर २७–२९ मा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

यसका लागि उनले २१ कात्तिकसम्म नयाँ सदस्यता वितरण तथा नवीकरण भएका सदस्यताको इन्ट्री गर्नुपर्ने भनेका छन् । यो समयलाई उनले दुई हप्ता वडामा फारम भर्ने, एक हप्ता प्रतिनिधिसभा क्षेत्रबाट स्वीकृत गर्ने समयसीमा तोकेर २१ गतेभित्र टुंग्याउने गरी विभाजन गरेका छन् । जेन–जीलगायत नयाँ पुस्तालाई क्रियाशील सदस्यता वितरण गर्न झन्झटिलो प्रक्रिया छोट्याउने र अनलाइनबाट समेत वडाबाट सदस्यता आवेदन दिन पाउने व्यवस्था गर्नुपर्ने भनेका छन् ।

थापाले कात्तिक मसान्तसम्म नयाँ तथा नवीकरण सदस्यता टुंग्याउने, ७ मंसिरसम्म क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने, १२ र १३ मंसिरभित्र वडा अधिवेशन गर्ने, २१ मंसिरभित्र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने तथा नेपाली जनसम्पर्क समितिको अधिवेशन गरिसक्ने र २७ गते केन्द्रीय महाधिवेशन गर्ने थापाको प्रस्ताव छ ।

थापाले महाधिवेशन समयमा नै सम्पन्न गर्ने सहजताका लागि वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन तथा प्रतिनिधिसभा क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि चयन गरी सीधै केन्द्रीय महाधिवेशन हुने गरी विस्तृत कार्यतालिका बनाउने र यसबाहेक अन्य तहगत कार्यसमितिको चयन केन्द्रीय महाधिवेशनपछि गर्न सकिने प्रस्ताव पनि गरेका छन् ।

थापाले नियमित महाधिवेशनका लागि अघि सारेको दोस्रो विकल्पमा पनि २७ देखि २९ मंसिरमै महाधिवेशन गर्ने भनिएको छ । तर, यसमा पालिका, जिल्ला, प्रदेश तहको पनि पहिल्यै अधिवेशन गरेर केन्द्रीय अधिवेशन गर्न सकिने भनिएको छ । यो प्रस्तावमा वडा अधिवेशन ५ मंसिरमा, पालिका अधिवेशन ८ मंसिरमा, प्रदेश क्षेत्रीय अधिवेशन १२ मंसिरमा, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन र नेपाली जनसम्पर्क समिति अधिवेशन १५ मंसिरमा गर्ने, जिल्ला अधिवेशन १८ मंसिरमा, प्रदेश अधिवेशन २१ मंसिरमा गर्ने भनिएको छ । महामन्त्री थापाले २७–२९ मंसिरमा १५औँ केन्द्रीय महाधिवेशनका लागि प्रस्तावित कार्यतालिकाअनुसार काम गर्ने क्रममा व्यावहारिक कठिनाइ भएमा ढिलोमा पुस पहिलो हप्तासम्म सम्पन्न गर्ने गरी कार्यतालिका परिमार्जनका लागि छलफल गर्न सकिने विकल्प प्रस्तुत गरेका छन् ।

थापाले नियमित महाधिवेशन गराउन छोटो प्रक्रिया अपनाउन सकिने प्रस्ताव पनि गरेका छन् । जसमा १४औँ महाधिवेशनमा भाग लिएका पार्टी कार्यालयमा भएको सदस्यता व्यवस्थापन तथा अभिलेख प्रणालीमा प्रविष्ट भइसकेका क्रियाशील सदस्यहरू आठ लाख ७० हजार ४२०, १४औँ महाधिवेशनपछि क्रियाशील सदस्यता प्रदान गर्ने भनी निर्णय भएअनुसार स्वीकृत गरी नवीकरण भएका १३ हजार ९१७ र १४औँ महाधिवेशनमा जिल्लाबाट नवीकरण छुट भई केन्द्रबाट नवीकरण भएका १३ हजार ३२६ तथा केन्द्रबाट विधानबमोजिम प्रदान गरेका १४९ सदस्यसमेत जम्मा आठ लाख ९७ हजार ८१२ मध्ये यस कार्यावधिमा मृत्यु भएका र पार्टी परित्याग गरेकाबाहेक सबै क्रियाशील सदस्य र उल्लिखित समयमा नयाँ क्रियाशील सदस्यता लिएका सबैलाई १५औँ महाधिवेशनको प्रयोजनका लागि क्रियाशील सदस्यका रूपमा मान्यता दिने भनेका छन् । यसले समयमा नै महाधिवेशन सम्पन्न गर्ने प्रक्रियालाई थप सहज बनाउने थापाको भनाइ छ ।

महामन्त्री थापाले पार्टीको आमूल सुधार गर्न, सदस्यता खुला र प्रक्रिया सहज बनाउँदै निर्णय प्रक्रियामा आमसदस्यको निर्णायक स्थान हुने गरी क्रियाशील सदस्यहरूको प्रत्यक्ष मतदानबाट सीधै नेतृत्व चयनको व्यवस्था गर्ने प्रस्ताव गरेका छन् । 

नियमित नभए विशेष महाधिवेशन
महामन्त्री थापाले अहिले विशेष र असामान्य परिस्थितिमा नियमित अधिवेशन गर्न नसकिने भएमा विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव गरेका छन् । ‘नियमित महाधिवेशन गर्न नसकिने भन्ने हो भने यही केन्द्रीय कार्यसमितिको बैठकबाट विधानको धारा १७(२) मा भएको व्यवस्थाअनुसार मंसिर मसान्तभित्र विशेष केन्द्रीय महाधिवेशनको सुनिश्चित गर्ने,’ उनले भनेका छन् । यसका लागि सदस्यता वितरण र व्यवस्थापनका लागि १६५ वटै क्षेत्रमा १५ दिनका लागि केन्द्रबाट अधिकारसम्पन्न आवासीय प्रतिनिधि खटाउने उनको प्रस्ताव छ ।

कार्यसम्पादन समितिमा आफ्नो प्रस्ताव राख्दै थापाले नयाँ परिवेशमा पार्टीलाई नयाँ नेतृत्व चाहिएको र त्यसका लागि मंसिरभित्र महाधिवेशन गरेर नयाँ नेतृत्व छान्नुपर्ने बताएका थिए । ‘हामीले संख्याका आधारमा योभन्दा फरक निर्णय गर्यौँ भने कानुनी वैधानिकता त होला, तर गाउँ–गाउँमा बसेका प्रत्येक साथीले नमानिदँदा यो निर्णय वैध हुँदैन, त्यो दिन समग्र कांग्रेस हार्नेछ,’ उनको भनाइ थियो । 

सुझावित समाचार