नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीले जेन–जीको माग र ऊर्जालाई सम्बोधन गर्न नसके देशको नेतृत्व गर्न नसकिने बताएकी छिन्। शुक्रबार सानेपामा केन्द्रीय समितिको बैठकमा बोल्दै संग्रौलाले जेन–जीको माग र भावनाअनुसार पार्टीलाई रुपान्तरण गरेर अघि बढ्नुपर्ने बताइन्।
‘हालै नेपाली कांग्रेसका जेन–जी युवाहरूले देशमा सुशासन र पार्टीभित्र समयानुकूल परिवर्तनको स्पष्ट सन्देशसहित नाैबुँदे अपिल सार्वजनिक गरेका छन्। उहाँहरूको यो अपिल, कुनै आग्रह होइन, बरु परिवर्तनको अनिवार्य आवश्यकता बोकेको एउटा सचेत आवाज हो। उहाँहरू भन्नुहुन्छ– सबै बदलिऔँ, सबै मिलेर देश बदलौँ। यो आह्वानलाई हामीले गम्भीरतापूर्वक लिनैपर्छ,’ उनले भनिन्।
डा. संग्रौलाले देशभरका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग राखिसकेकाले अब मंसिरभित्रै नियमित महाधिवेशन गर्नका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने बताइन्। ‘सो महाधिवेशनमा कांग्रेसको नेतृत्वमा अहिलेसम्म मुलुकले प्राप्त गरेको उपलब्धिको समीक्षा गर्नुका साथै हाम्रा कमी–कमजोरीबारे व्यापक समीक्षा गरिनुपर्छ,’ उनले भनिन्।
कांग्रेस र अन्य दलहरूसँग भएको गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उजुरीका आधारमा या विद्रोही उम्मेदवार उठेको कारणबाट अनुशासन समितिबाट कारबाहीको सिफारिस भएका सबैलाई वर्तमान राजनीतिक परिस्थितिका आधारमा एकपटकका लागि आममाफी दिनसमेत उनले प्रस्ताव गरिन्।
त्यस्तै, संग्रौलाले फागुन २१ गते तोकिएको मितिमा मध्यावधि चुनाव हुन नसकेमा मुलुक अर्को संवैधानिक तथा सुरक्षा संकटमा फस्ने निश्चित भएकाले निर्वाचनलाई सुनिश्चित बनाउँदै लोकतान्त्रिक संविधानलाई सहज मार्गमा अघि बढाउने कार्यमा कांग्रेसले अग्रसरता लिनुपर्ने धारणा राखिन्।
उनले मुलुकको परराष्ट्र नीति बलियो हुनुपर्ने भन्दै हालसम्म अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री नियुक्ति गर्न नसक्नु दुःखद भएको पनि बताइन्। उनले काठमाडौंस्थित सबै कूटनीतिक निकायका प्रतिनिधिहरूलाई निम्तो गरेर पार्टीको परराष्ट्र नीतिबारे स्पष्ट पार्न पनि कांग्रेसलाई आग्रह गरिन्।