एमाले नेता सिंह भन्छन्– संसद् पुनर्स्थापनाको आन्दोलनले पार्टी घृणा र हाँसोको पात्र बन्छ

शुक्रबार, १ कार्तिक, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द सिंहले संसद् पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जाँदा अहिलेको अवस्थामा जनताको बिचमा पार्टी घृणा र हाँसोको पात्र मात्र हुने बताएका छन् । शुक्रबारको केन्द्रीय कमिटी बैठकमा १०बुँदे सुझाव राख्दै सिंहले यस्तो बताएका हुन् ।

यस्ता छन् सिंहका सुझावहरू 

१. भदौ २२ गतेको जस्तोसुकै चुनौतीको सामना गर्ने रेजिलिएन्ट दृढ अवस्थामा हामी रहेको राजनीतिक प्रतिवेदनको विश्लेषण २४ घण्टा नपुग्दै फेल भयो। फेल भएको कार्यनीति बोकेर आगामी पाँच वर्ष कसरी जाने होला ? हाम्रा विश्लेषणहरू वस्तुनिष्ठ हुने गरेका छैनन् । नेतृत्वले के सुन्न रुचाउँछन् त्यही मात्रै सुनाउने प्रवृत्तिले हामीलाई सच्याउँदैन। सक्किने बाटोमा लैजान्छ।

२. पार्टीसत्ता र राज्यसत्ता हाम्रो हातमा भएको वेला भदौ २३ गते भएको नरसंहारको आरोपबाट सतही विश्लेषणका आधारमा हामीले आजीवन उन्मुक्ति पाउँदैनौँ।

३. २४ गतेको विध्वंस २३ गतेको नरसंहारको प्रतिक्रिया हो जसमा घुसपैठ भयो। जुन घटनालाई विदेशी षड्यन्त्रको सिद्धान्तजस्ता अमूर्त कुरा मात्रै भनेर आफ्नो अकर्मण्यता ढाकछोप गर्दा त्यो समीक्षा फेरि सतही हुन्छ। विस्तृत र वस्तुनिष्ठ विश्लेषण जरुरी छ।

४. भ्रष्टाचार र व्यभिचारका डेढ दर्जनभन्दा बढी आरोपहरूमा आरोपितहरू हामी यहीँ छौँ  । त्यसको छानबिन गरेर कारबाही गर्नेबारेमा पार्टीले संस्थागत ढंगले कहिले बोल्ने कि बोल्दै नबोल्ने ?

५. वर्तमान अवस्थामा जनताको आक्रोश नेकपा एमालेमाथि भन्दा पनि पार्टी अध्यक्ष, उनका अभिव्यक्ति  र उनलाई घेराबन्दीमा राखेर चलाउने समूहमाथि रहेकोले त्यो यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी हस्तान्तरण गरेर मार्गप्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एक मात्रै उपाय हो।

६. युवा विद्यार्थी र आमजनता स्वस्फूर्त रूपमा सरकारका विरुद्धमा सडकमा आउनु के प्रतिक्रान्ति हो ? कुशासन र भ्रष्टाचारको विरुद्ध गरिने सडक संघर्षहरूका कारण सत्ताच्युत हुने कुरालाई प्रतिगमन भन्न मिल्छ ? यसमा अझै वस्तुनिष्ठ ढंगले विश्लेषण गर्न जरुरी छ।  

७. जनसंगठनहरू कसरी चल्दै छन् भन्ने एउटा उदाहरण  टंक कार्कीदेखि समिक बडालपछिका पुस्ताले समेत गर्व गर्ने प्यारो संगठन अनेरास्ववियुको अध्यक्षमा एक दिन टिक्न नसकेर राजीनामा दिएर भाग्ने नेतृत्वलाई स्थापित गर्ने कस्तो कार्यशैलीमा पुगेका छौँ हामी ?

८. चार वर्षसम्ममा केन्द्रीय कमिटीका बैठकमा चार–पाँचजना बाहेक तीन मिनेटसमेत बोल्न नपाउँदा कुनै हीनताबोध र ग्लानि नहुने तपाईं पदाधिकारीहरूले सार्वजनिक खपतका लागि बाहिर बोल्नुको कुनै अर्थ छैन।

९. दुई–दुईपटक हामी आफैँले संसद् विघटन गरेकाले संसद् पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जाँदा हामी आमजनताका बिच घृणा र हाँसोको पात्र मात्रै हुन्छौँ । चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने योजना हो। कमजोरी सच्याउँदै चुनावमा जानुको विकल्प छैन।

१०.विद्या भण्डारीको सदस्यता नवीकरण गरी पार्टी काममा फर्किने वातावरण बनाउन माग गर्दछु।
अरविन्द सिंह
केन्द्रीय सदस्य
वीरगन्ज

सुझावित समाचार