बाराको प्रसौनी गाउँपालिका–३, नौतनबाट लागुऔषधसहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले बिहीबार साँझ चेकजाँच गर्ने क्रममा लागुऔषध खैरो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका–३ सानो देउतीका रामचन्द्र दासका छोरा ४२ वर्षीय रामाशंकर दास भएको प्रहरीको भनाइ छ। उनको लगाएको पाइन्टको बायाँ गोजी खानतलासी गर्दा कागजमा बेरिएको खैरो हेरोइन जस्तो देखिने पदार्थ १९.७८० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ।
वीरगन्जबाट प्रसौनीतर्फ पैदल आइरहेका दासमाथि शंका लागेर जाँच गर्न खोज्दा भाग्न खोजेपछि प्रहरीले पक्राउ गरी लागुऔषध बरामद गरेको हो । बरामद लागुऔषधसहित दासलाई इलाका प्रहरी कार्यालय प्रसौनीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।