- देशमा युवाले चाहेझैँ सुशासन र पारदर्शिता कायम हुने दिशामा कठोरतासाथ अघि बढ्नुपर्छ
भदौ २३ सम्म नेपालमा झन्डै दुईतिहाइको बलियो सरकार थियो । दुई ठुला पार्टी मिलेर बनेको सो सरकारले लामो अस्थिरताबाट देशवासीलाई स्थायित्व दिने वाचा गरेका थिए । तर, भदौ २३ मा युवाको नेतृत्वमा सुरु भएको आन्दोलनले बलियो भनिएको सरकार पनि बढारियो । खासमा युवाले सो दिन शान्तिपूर्ण आन्दोलनको आह्वान गरेका थिए । युवाहरूले बिहान ११ बजेतिर माइतीघरमा जम्मा भएर संसद्भवन नयाँबानेश्वरतर्फ अघि बढ्ने कार्यक्रम पहिले तोकिएको थियो । सोहीअनुसार शान्तिपूर्वक युवाको ठुलो भिड बानेश्वरतर्फ लागेको थियो ।
तर, बानेश्वर पुगेपछि शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले ठुलो बल प्रयोग गर्यो । १९ जना युवाले सहादत प्राप्त गरे । अन्धाधुन्ध हानिएको गोली लागेर घाइते हुनेको संख्या सयौँ पुग्यो । भर्खरका युवाको गोली लागेर भएको मृत्युबाट सिंगो देश स्तब्ध भयो । आफैँले मत दिएर बनाएको सरकारले आफ्नै बालबच्चा मारेको कुरामा अभिभावक पुस्तासमेत विक्षिप्त बन्यो । आमजनमानसमै आक्रोश फैलियो । व्यापक दमनको विरोधबिच भदौ २३ राति गृहमन्त्री रमेश लेखकले राजीनामा दिए । सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फुकुवा गरियो ।
दोस्रो दिन २४ गते दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदासम्म विद्रोहले डरलाग्दो आकार लिइसकेको थियो । काठमाडांै उपत्यकासहित देशभर सार्वजनिक सम्पत्तिमाथि आगजनी र तोडफोडको लहर चल्यो । सिंगो देश हनुमानले आगो लगाएपछिको लंकाजस्तो देखियो । २४ गते राति सुरक्षाको जिम्मा नेपाली सेनाले लियो । आन्दोलन साम्य भएपछि भदौ २५ मा सेनाले सरोकारवाला र युवासँग छलफल अगाडि बढायो । त्यही छलफलको प्रतिफलस्वरूप भदौ २७ गते साँझ राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरे । सो गैरदलीय सरकारले लगत्तै जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ का लागि नयाँ निर्वाचन घोषणा गर्यो । त्यसपछि युवाहरूको विद्रोह सफल भयो भनियो ।
अरस्तुका अनुसार मानिस सामाजिक मात्रै नभई राजनीतिक प्राणी पनि हो । राजनीति सबै नीतिहरूको माउ हो । वर्तमान विश्वमा कमजोर राष्ट्रमाथि बलियाले गर्ने हेपाहा व्यवहार रुसले छिमेकी युक्रेनमाथि गरेको व्यवहारले नै पुष्टि गर्छ । त्यसबाहेक एआईको बढ्दो प्रयोगसँगै राजनीति पनि तीव्र ढंगले विकास भइरहेको स्मरणीय छ । देश बन्न सयौँ वर्ष लाग्ने र बिग्रिन क्षणभर पनि नलाग्ने हुँदो रहेछ भन्ने बुझ्न जरुरी छ ।
नेपालले अहिले लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेको छ । लोकतान्त्रिक प्रणाली विश्वमा हाल अभ्यासमा रहेमध्ये उत्कृष्ट राजनीतिक व्यवस्था हो । लोकतन्त्रमा शासन सञ्चालन गर्ने भनेको राजनीतिक दलहरूले नै हो । शासन सञ्चालनको सम्पूर्ण विधि संविधानले तोकिदिएको हुन्छ । लोकतन्त्रले सही दिशा लिन सके जनताको जनजीवन सुखी, खुसी र सुरक्षित हुनेछ । लोकतन्त्रका लाभहरूको उपभोग हरेक नेपाली जनताले लिन पाउने वातावरण सिर्जना हुन नसक्दा अहिले विद्रोह उठ्ने अवस्था आयो । अब दिगो शान्ति, सुशासन र तीव्र विकासका माध्यमबाट समृद्ध नेपाल बनाउन लाग्नुपर्छ ।
देशका सबै पक्षमा सुधारको आवश्यकता छ । हामीले देशको सांस्कृतिक, राजनीतिक सञ्चालन विधि, आर्थिक क्षेत्रजस्ता कुरामा उत्कृष्टता हासिल गर्नैपर्छ । यसले विनम्रता, कडा मिहिनेत र लामो साधनाको माग गर्छ । साथै अध्ययनको पनि आवश्यकता छ । यसरी बनेको जगमा मात्रै देशले शिर उँचो बनाएर सीधा अगाडि हेरेर अघि बढ्ने ऊर्जा हासिल गर्न सक्छ । सात दशक लामो राजनीतिक उतारचढाव र संघर्षको बलमा बनेको संविधानसभाबाट निर्मित वर्तमान नेपालको संविधान बनेको एक दशक पनि भएको छैन । हाम्रो संविधान जेन–जी पुस्ताजस्तै अहिले पनि कलिलै अवस्थामा छ । आवश्यकता र समयको मागअनुरूप संशोधनमार्फत हामीले अहिलेको संविधानलाई सुरक्षित र वैधता प्रदान गर्दै लानुपर्ने हुन्छ ।
लोकतन्त्रको बाटो परित्याग गरेर अर्को बाटो लियौँ भने अनिश्चितता आउँछ । जनताको नयाँ जनादेश लिन राजनीतिक दल स्वच्छ प्रतिस्पर्धामा जान हिचकिचाउनु हुँदैन । चुनावका लागि स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सिर्जना गर्नुपर्छ । युवाहरूले आन्दोलनको माध्यमबाट सरकारलाई राजीनामा गराएपछि देश संक्रमणकालीन राजनीतिमा छ । यसलाई ट्र्याकमा ल्याउनैपर्छ । खरानी बनेको देशलाई सम्पन्न बनाउने दिशा आवश्यक पर्छ । राजनीति सुध्रियो भने धेरै कुरा सुध्रिन्छ । आन्दोलनमा धेरैको ज्यान गयो, ठुलो संख्यामा घाइते भए र खर्बौंको आर्थिक क्षति भयो । अब हामीले यस पीडादायी स्मृतिलाई मनमा राखेर विकासको मार्गमा अघि बढ्नुपर्छ ।
अहिले केही मित्रराष्ट्रले नेपालीलाई दिँदै आएको भिसामा कडाइ गरेका समाचार आइरहेका छन् । यसको दीर्घकालीन असर कस्तो होला ? आन्दोलनपछि नेपालमा आउने पर्यटकको संख्या घटेको छ । यी दुई घटनाले नेपाल असुरक्षित रहेको सन्देश बाहिर गएको देखाउँछ । पर्यटकले सुरक्षित अनुभूत नगरेसम्म देश घुम्न आउँदैनन् । ‘अतिथि देवो भव:’ भन्ने नारा नेपाली संस्कार हो र यो हिजोजस्तै कायम छ भनेर पर्यटकलाई विश्वास दिलाउन सक्नुपर्छ । विश्वास विकास गर्न लामो समय लाग्छ ।
जेन–जीले गरेको अभूतपूर्व संघर्ष र बलिदानपछि उनीहरूकै सिफारिसमा अन्तरिम सरकारको गठन भएको छ । अब सरकारले आन्दोलनका क्रममा भएको खर्बौंको आर्थिक क्षतिबाट देशमाथि आर्थिक भार नपर्ने हिसाबले अघि बढ्नुपर्छ । सरकारले आशा बढाउने काम गर्नुपर्छ । व्यक्तिको जीवनमा जस्तै देशको जीवनमा पनि आशाको ठुलो महŒव रहन्छ । देशमा युवाले चाहेझैँ सुशासन र पारदर्शिता कायम हुने दिशामा कठोरतासाथ अघि बढ्नुपर्छ । राजनीति सम्हालिनेछ र सबै कुरा ठिक ढंगले अगाडि बढ्ने आशा विकास गर्नसक्नु नै वर्तमान सरकारको सफलताको आधार हुनेछ ।