लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद जितेन्द्रप्रसाद सोनार (सोनल) मधेश प्रदेशका चौथो मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्री सोनलले बिहीबार शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोनललाई बुधबार साँझ मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार पदबाट राजीनामा दिएपछि प्रदेश सरकार गठनका लागि आह्वान भएको थियो ।
बुधबार बिहान मात्र जसपा, जनमत, माओवादी, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका ५७ सांसदको हस्ताक्षरसहित सोनललाई मुख्यमन्त्री बनाउन दाबी पेस गरिएको थियो । हुन त कांग्रेस, एमाले र जनमतको समर्थन रहेको भन्दै कांग्रेसका कृष्णप्रसाद यादवले पनि अर्को दाबी पेस गरेका थिए । तर, मंगलबारसम्म यादवलाई सघाउने बताइरहेको जनमत युटर्न भएपछि सोनल मुख्यमन्त्री बनेका हुन् । १०७ सदस्यीय प्रदेश सभा रहेको मधेशमा सरकार बनाउन ५४ सांसद भए बहुमत पुग्छ । सभामा २५ सिटसहित एमाले पहिलो र २२ सिटसहित कांग्रेस दोस्रो दल हुन् । जसपा नेपालको १९, जनमत १३, लोसपा र माओवादीको नौ–नौ सिट छ । एमाले र लोसपाका एक–एक सांसद निलम्बित छन् । एमालेका एक सांसद सभामुख छन् । एकीकृत समाजवादीका सात, नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको एक–एक सिट छ ।
...त्यसपछि जुट्यो सहमति
मधेशमा नौ सिटसहित पाँच दलको साथ पाएको लोसपालाई सरकारको नेतृत्व गर्ने अवसर मिलेको छ । यो अवस्था जनमतले युटर्न गर्दा आइलागेको हो । आफ्नो दल लोसपाको नेतृत्वमा सरकार बनाउने भन्दै जनकपुरमा रहेका अध्यक्ष महन्थ ठाकुरले मधेशकेन्द्रित र साना दल मिलाएका हुन् । ठाकुरले आफ्नो दलको नेतृत्वमा सरकार गठनका लागि मंगलबार जसपासहित विपक्षी दलसँग छलफल गरेका थिए । छलफलमा जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवलाई पनि बोलाइएको थियो । बैठकमा विपक्षी पार्टीले विनासर्त सहयोग गर्न तयार रहेको आश्वासन दिएपछि अध्यक्ष ठाकुरले जनमतका अध्यक्ष सिके राउतसँग फोनमा कुराकानी गरे । बैठकमा सहभागी लोसपाका एक सांसदका अनुसार अध्यक्ष ठाकुरले वर्तमान अवस्थामा संघीयता र संविधान जोगाउन मधेशकेन्द्रित दल मिल्नुको विकल्प नरहेको र संघीय मधेशी मोर्चाको भविष्य पनि धरापमा पर्ने भन्दै सहयोगका लागि राउतसँग अपिल गरेका थिए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि लोसपा नेतृत्वको सरकारलाई सहयोग गर्न अध्यक्ष राउतलाई आग्रह गरेका थिए ।
त्यसपछि राउतले समर्थन जनाए । मुलुकको वर्तमान अवस्थालाई मध्यनजर गर्दै आफूहरूले लोसपालाई सहयोग गरेको जनमत संसदीय दलका नेता यादवले बताए । जनमतका महासचिव तथा चन्दन सिंहले मधेशको मागअनुसार आफूहरू लोसपा नेतृत्वको सरकारलाई सहयोग गर्न पुगेको बताए ।
जबकि, जनमतले कांग्रेस संसदीय दलका नेता कृष्ण यादवलाई सघाउने बताएपछि कांग्रेस र एमाले ढुक्क थिए । यसअघि जनमत आफ्नै पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारबाट बाहिरएपछि कांग्रेस, एमालेले समर्थन फिर्ता लिएका थिए । अल्पमतमा परे पनि मुख्यमन्त्री सिंहले राजीनामा नदिएपछि दबाबस्वरूप तीन दलले आफ्ना सांसदको हस्ताक्षरसहितको पत्र २२ असोजमा प्रदेश प्रमुखको कार्यालयमा बुझाएको थियो ।
मुख्यमन्त्री सिंहले मंगलबार राजीनामा दिँदासम्म पनि जनमतले कांग्रेसलाई सघाउने बताइरहेको थियो । कांग्रेस र एमाले पनि ढुक्क थिए । कांग्रेसको पार्टी कार्यालयमा बुधबार नै मन्त्रालय बाँडफाँटबारे छलफलसमेत भयो । तर, जनमत युटर्न भएपछि जसपा, जनमत, माओवादी, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको ६ दलीय गठबन्धन बन्न पुगेको हो । मंगलबार राति १० नबज्दै जनमतले लोसपाका सोनललाई मुख्यमन्त्री बनाउन सहमति गरिसकेका थिए । सोही सहमतिअनुसार बुधबार बिहानै साढे ८ बजे ६ दलको समर्थनमा सोनलले सरकार गठनका लागि दाबी पेस गरेका थिए ।