मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनल नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई आज मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । जसपा नेपाल, माओवादी, जनमत, नेकपा एस र नागरिक उन्नमुक्ति पार्टीको समर्थनमा प्रदेश प्रमुख भण्डारीले सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
लोसपाले विभिन्न ६ दलको समर्थनमा नयाँ सरकार गठनको लागि दाबी पेश गरेको थियो । कांग्रेसले पनि एमाले र जनमतको समर्थन आफूलाई रहेको भन्दै नयाँ सरकार गठनको लागि दाबी पेश गरेको थियो । तर, जनमतका संसदीय दलका नेता महेश यादवले आफ्नो पार्टीको समर्थन लोसपालाई रहेको भन्दै प्रदेश प्रमुखलाई पत्रचार गरेका थिए ।
कांग्रेसले भने जनमत पार्टी अधिकारिक रुपमा फुटिसकेको अवस्थामा महेश यादव दलको नेता नरहेकोले सांसदहरूको सनाखत हुनुपर्ने माग गरेपछि प्रदेश प्रमुख कार्यालयमा केही बेर तनवको स्थिति सिर्जना भएको थियो ।