जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेका तीनजनाको परिवारलाई आयल निगमले रोजगारी दिएको छ। निगमका उपनिर्देशक प्रदीप यादवका अनुसार नयाँ बानेश्वर केन्द्रित आन्दोलनमा मृत्यु भएका सुवास बोहराकी आमा कैलीदेवी बोहरालाई सिनामंगलस्थित हवाइ इन्धन कार्यालयमा सोमबारदेखि जागिर प्रदान गरिएको छ।
उनलाई बुधबार दिउँसो जेन–जी प्रतिनिधिहरु शिव यादव, उपार्जुन चाम्लिङ, अप्सना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, खेमराज साउद र गुञ्जन साहीको उपस्थितिमा नियुक्ती पत्रसमेत प्रदान गरिएको उपनिर्देशक यादवले जानकारी दिए।
त्यस्तै, नयाँ बानेश्वर केन्द्रित आन्दोलनमा मृत्यु भएका ओजेन बुढाका बुवा मणिलाललाई चितवनस्थित भण्डारण क्षमता अभिवृद्धि परियोजनामा जागिर सुनिश्चित गरिएको छ। आन्दोलनका क्रममा कोटेश्वर चोकमा मृत्यु भएका महेश बुढाथोकीका भाइ उमेशलाई बिहिबारदेखि हाजिर हुने गरी जागिरमा लगाइएको यादवले जानकारी दिए। मृतक महेशकी आमा क्यान्सर रोगसँग लडिरहेकी छिन्।
‘क्यान्सरले थलिएकी आमाबाट कमाउने उमेरको छोरा गुमाउनुको बेदना सुनेपछि परिवारको एकजना सदस्यलाई रोजगारी दिने निर्णय गरेका हौं,’ यादवले भने। उमेशलाई सिमरास्थित हवाइ इन्धन कार्यालयमा सुरक्षा गार्डको रोजगारी दिन लागिएको यादवले बताए।
निगमको सिनामंगलस्थित हवाइ इन्धन कार्यालयमा कार्यरत करिब डेढ सय कर्मचारीले जेन–जी आन्दोलनमा मृत्यु र घाइते भएका परिवारलाई दुई लाख ७० हजार रुपैयाँ सहयोगसमेत प्रदान गरेका छन्। उपनिर्देशक रामहरि निरौलाले पाँच मृतकका परिवार र सातजना घाइतेलाई सो रकम हस्तान्तरण गरेको जानकारी दिए। ‘सिनामंगल कार्यालयमा कार्यरत कर्मचारीले योगदान गरेर संकलित रकम हस्तान्तरण गरेका हौं,’ निरौलाले भने।
भ्रष्टाचार छानबिनको माग राख्दै गत २३ र २४ भदौमा जेन–जीले गरेको आन्दोलनमा सरकारी दमनका कारण ७६ जनाको मृत्यु भएको थियो।