नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी नेतृत्वबाट राजीनामा माग गर्नेहरूलाई बहुमत संख्या पुर्याउन चुनौती दिएका छन्।
केन्द्रीय कमिटीको बुधबारको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले आफू विधि र वैधानिक प्रक्रिया मान्न तयार रहेको भन्दै बहुमत जुटाउन चुनौती दिएका हुन्।
केन्द्रीय सचिवालय बैठकमा केही नेताहरूले सरकारको नेतृत्वमा रहेका कारण जेन–जी आन्दोलनमा भएको क्षतिको नैतिक जिम्मेवारी लिएर पार्टी अध्यक्षबाट राजीनामा दिन ओलीलाई सुझाव दिएका थिए। केन्द्रीय कमिटी बैठकमा पनि त्यस्तो सुझाव आउन सक्नेतर्फ संकेत गर्दै राजीनामा माग्ने नेताहरुलाई उनले खुला चुनौती दिएका हुन्।
‘घर जले पनि, मारिने अवस्था सिर्जना हुँदा पनि केपी ओलीले अँध्यारो मुख लगाउन जानेको छैन। केपी ओली हट्नुपर्छ भनेका वेला एकदम खुसीसाथ फेरि पनि कमरेडहरूको आदेशमा हट्न तयार छ। यो आदेश दिने ठाउँ हो, यसको आदेशमा गर्न सक्छु। तर, कमिटीमा बसेका कोही पनि सदस्यले कमिटीबाहिर गएर, अखबारबाजी गरेर, लोकप्रियतावादका पछि कुदेर... के लोकप्रियतावाद हुन्छ ?’ ओलीले भने।
आफू दौडन सक्ने अवस्थामै रहेकाले कसैले बोक्नु नपर्ने प्रस्ट पार्दै ओलीले थपे, ‘कतिपय साथीहरूले मलाई भन्नुहुन्छ, तपाईंलाई बोकेर जानै सकिँदैन। किन बोक्नुपर्याे ? म आफैँ हिँड्छु । हिँड्न नसक्ने होइन, दौडन सक्ने अवस्थामा छु। बोक्नुपर्दैन। प्रश्न के हो, केन्द्रीय कमिटीले के भन्छ, महाधिवेशनले के भन्छ । व्यक्तिगत इच्छा पूरा गर्न म हिँडेको होइन। यो देशको इच्छा पूरा गर्ने अगुवाइ यो पार्टीले गर्छ, पार्टीले जे भन्छ, त्यही हुन्छ। हट्ने पनि विधि र प्रक्रिया हुन्छ।’