कपिलवस्तु प्रहरीले अवैध रूपमा ढुवानी गरिएको अवस्थामा कवाडी सामग्रीसहित भारत निकासीका लागि तयार पारेको किवी फल बरामद गरेको छ । प्रहरीले सामान बोकेको ट्रक र बेवारिसे अवस्थामा रहेको फलफूल बरामद गर्दै दुबै घटनामा संलग्नमाथि अनुसन्धान अघि बढाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रिपेन्द्रकुमार सिंहका अनुसार मायादेवी गाउँपालिका–४ गौराबाट ना२ख ९५५२ नम्बरको ट्रक जाँच गर्दा बिल–बिजकविना ढुवानी गरिएको पाँच हजार ७३० किलो पुरानो प्लास्टिकका टुक्रा (कवाड) बरामद गरिएको हो । उक्त सामग्रीको मूल्य करिब तीन लाख १५ हजार १५० रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले ट्रकचालक ४१ वर्षीय सुग्रिम केवटलाई नियन्त्रणमा लिई बरामद सामाग्रीको अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको बताएको छ ।
यसैगरी, प्रहरीले कपिलवस्तुकै कृष्णनगर नगरपालिका–२ यात्रुगेट नजिकैबाट भारततर्फ अवैध रुपमा निकासी गर्न लागिएको ७४१ किलो किवी फल समेत बरामद गरेको छ । बरामद किवीको बजार मूल्य करिब एक लाख ८५ हजार २५० रहेको र यसलाई कृष्णनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।
डिएसपी सिंहले कपिलवस्तुभित्र तथा सीमा क्षेत्रमा अवैध आयात–निर्यात, कर छली र तस्करीमा संलग्नलाई निगरानी बढाउँदै सीमाक्षेत्र संवेदनशील भएकाले प्रहरी चौकी र गस्ती टोलीलाई अझ सशक्त बनाएको बताए ।