चालू आर्थिक वर्षको दोस्रो महिनामा उपभोक्ता मुद्रास्फीति १.९९ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार भदौमा उपभोक्ता मुद्रास्फीति १.९९ प्रतिशतले घटेको हो। गत आवको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.८६ प्रतिशत थियो। समीक्षा अवधिमा भने १.८७ प्रतिशत छ।
समीक्षा अवधिमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.१० प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७५ प्रतिशत थियो।
प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.९९ प्रतिशत, मधेश प्रदेशको १.७४ प्रतिशत, बागमती प्रदेशको १.७२ प्रतिशत, गण्डकी प्रदेशको १.४७ प्रतिशत, लुम्बिनी प्रदेशको १.७६ प्रतिशत, कर्णाली प्रदेशको १.८५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.८८ प्रतिशत रहेको छ।
काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२१ प्रतिशत, तराईको १.७० प्रतिशत, पहाडको १.६८ प्रतिशत र हिमालको २.५१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।