नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको बताएका छन्।
पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले जननिर्वाचित सर्वोच्च संस्था असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको टिप्पणी गरेका हुन्।
देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन नै रहेको भन्दै देउवाले निर्वाचनका लागि सरकारले शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरण बनाउनुपर्ने प्रस्ट पारे। उनले भने, ‘सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास छ।’
निर्वाचनको मिति तोकिए पनि भयरहित वातावरण नरहेको बताउँदै देउवाले भने, ‘सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तोकेको छ। तथापि, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न सकेको छैन। निर्वाचनको पूर्वसर्तका रुपमा रहेको शान्तिसुरक्षाको ग्यारेन्टी छैन। सुरक्षा निकाय मनोबल गिरेर निरीह भएका छन्।’
जेन–जी आन्दोलनका क्रममा घाइते भएपछि अस्पतालमा उपचाररत देउवा सार्वजनिक भएका थिएनन्। केन्द्रीय समिति बैठकमा सहभागी हुने क्रममा एक महिनाभन्दा लामो समयपछि उनी मंगलबार सार्वजनिक भएका हुन्।