विपतअघि, विपत् हुँदा र विपतपछि समुदायको अवस्था अध्ययनका लागि क्षमता विकास गर्न अछाममा सामाजिक परिचालहरूलाई प्रशिक्षण दिइएको छ । यस्तो वेला सचेतनाका सन्देश फैलाउने, स्थानीयलाई संगठित गर्ने र सफलताका कथा लेख्न सिपको विकास गर्ने उद्देश्यले उनीहरूलाई तीन दिनसम्म प्रशिक्षण दिइएको हो ।
जसमा नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित सुरक्षित नेपाल परियोजनाअन्तर्गत रहेर काम गर्ने पाँच महिला र पाँच पुरुष गरी १० जना सामाजिक परिचालकहरूले समुदायमा पुगेर बोल्ने कला र सफताका कथा संकलन गरी लेख्ने सिप सिकेका छन् ।
रेडक्रसका जिल्ला सभापति रत्नप्रसाद ढुंगानाका अनुसार प्रशिक्षणले समुदायका सदस्यहरूबिच सहभागिता, सहयोग र सशक्तीकरणको भावना विकास गराउँदै सामाजिक, आर्थिक र सांस्कृतिक विकासका गतिविधिहरूसँगै विपतको जोखिम सामना गरेर पनि सफल भएका व्यक्ति र समुदायको कथा खोज्न सहज हुने बताए । उनले व्यक्तिगत र पेसागत क्षमता विकासले समाज सुधार हुने भएकाले सामाजिक परिचालकहरूलाई दक्षता प्रदान गर्न यो प्रयास गरिएको उल्लेख गरे । उपलब्धिहरूमा विगतको भन्दा सुधार गर्ने मूल लक्ष्य राखेर प्रशिक्षण दिइएको भन्दै क्षमता विकास तथा अनुशरण अधिकृत सन्तोष ढकालले यसले समुदायलाई न्याय गर्ने बताए ।
विपतअघि, विपत् हुँदा र विपतपछि व्यक्ति र समुदायको अवस्था अध्ययनगरी त्यसलाई सत्य, निष्पक्ष र सरल रूपमा तथ्यसहित संकलन गरी कथाका रूपमा सार्वजनिक गरिने हुँदा प्रशिक्षणपछि यस्ता विषयले न्याय पाउने उनले दाबी गरेका हुन् । प्रशिक्षणमा सहभागी अछामको साँफेबगर नगरपालिका र मेल्लेख गाउँपालिकाका दशजना सामाजिक परिचालकलाई विशेष गरी बोल्ने कला, कथा लेखन र प्रस्तुतिबारे प्रशिक्षण दिइएको हो ।
प्रशिक्षणपश्चात् सत्यता, स्पष्टता, शुद्धता र सरल ढंगले आफूहरू परिवर्तनका लागि समुदाय र व्यक्तिका सफलतामा केन्द्रित रहने भन्दै प्रशिक्षार्थीहरू विक्रम साउद र भजन साउदले क्षमता विकासले आफूहरू अब्बल बनेको बताए ।
अछाममा रेडक्रसले साँफेबगरको वडा नम्बर ९ र १४ तथा मेल्लेख गाउँपालिकाका ४, ५ र ७ नम्बर वडामा सुरक्षित नेपाल परियोजनामार्फत काम गरिरहेको छ । जहाँ बुढाकोट मावि, कालिका मावि, वासुकी मावि, जनता मावि, दुर्गादेवी मावि र घट्टेडाँडा आधारभूत विद्यालयसहित एक हजार ६०३ घरधुरीमा काम गरिरहेको छ ।
यी समुदायहरूकै सहभागितामा सामुदायिक विपत् व्यवस्थापन समितिमार्फत विपत् कोष स्थापना गरिएको विपत् जोखिम न्यूनीकरण अधिकृत कमला राईले बताइन् । उनका अनुसार अहिले कोषमा नौ लाख ८१ हजार २२६ रुपैयाँ बचत रहेको छ । जसलाई विपत् सुरक्षाका रूपमा जम्मा गरिएको हो ।