भन्सार छलीका अवैध सुनचाँदी बरामद

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण

राजस्व अनुसन्धान कार्यालय पथलैयाले अवैध रूपमा भन्सार छली गरेको सुनचाँदी छापा मारी बरामद गरेको छ।  वीरगन्ज महानगरपालिकाको माईस्थानस्थित अभिषेक सर्राफको घरमा अवैध रूपमा भन्सार छली गरेर राखेको दुई हजार २५४ ग्राम सुन र दश हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ।

विशेष सूचनाका आधारमा सर्राफको घरमा अवैध रूपमा भन्सार छली गरेको सुन र चाँदी गोदाममा रहेको सूचनाका आधारमा सो परिमाणको सुन र चाँदी बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिए।

भन्सार छली गरेर सुनचाँदी ल्याएको भन्दै छापा मारी बरामद भएको सुनचाँदी र नगद राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको उनले बताए । सशस्त्र प्रहरीले सुनजस्तो देखिने थप ५५९.१० ग्राम र चाँदीजस्तो देखिने ५५० ग्राम पनि बरामद गरेको जनाएको छ। 

सोही गोदामबाट एक लाख नौ हजार नेपाली रुपैयाँ र भारु ४१ हजार ६० पनि बरामद गरेको छ। सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाइने राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख हरिप्रसाद शर्माले बताए।

सुझावित समाचार