- न्यूनतम बोनस दर प्रतिहजार ५० रुपैयाँ हुनुपर्ने माग, सिइओको राजीनामापछि दोस्रो तहका व्यवस्थापकसँग बोनस दर बढाउने सहमति
अभिकर्ता र कर्मचारीको ६ दिनको आन्दोलनपछि हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमारलाल कर्णले राजीनामा दिएका छन् । आन्दोलनमा कर्मचारी र अभिकर्ताले राखेका बोनस दर बढाउने माग पूरा गर्न सक्ने अवस्था नभएपछि उनले सोमबार राजीनामा दिएका हुन् । नेपालको बिमा क्षेत्रमा निजी कम्पनीतर्फ कर्मचारी र अभिकर्ताको आन्दोलनकै कारण सिइओले राजीनामा दिएको यो पहिलो घटना हो ।
बिमितलाई दिइने बोनस दर प्रतिहजार न्यूनतम ५० रुपैयाँ हुनुपर्ने भन्दै अभिकर्ताहरू गत बुधबारदेखि केन्द्रीय कार्यालयमा धर्नामा थिए । कम्पनीले सार्वजनिक गरेको तालिकाअनुसार अहिले बिमितलाई दिइने बोनस दर प्रतिहजार न्यूनतम २४ देखि अधिकतम ८६ रुपैयाँसम्म छ । अभिकर्ताले न्यूनतम दर ५० रुपैयाँ कायम गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका थिए ।
यसका साथै उनीहरूले सिइओ कर्णले आफूनिकट अभिकर्तालाई प्रोत्साहन गर्ने आरोप लगाएका थिए । शुक्रबार सिइओ कर्ण र अभिकर्ताबिच वार्ता गर्ने तयारी थियो । तर, वार्ता भने सिइओ कर्णसँग नभएर सञ्चालक समितिसँग भयो । तर, त्यो वार्ता सफल नभएपछि आन्दोलनमा सोमबार कर्मचारीहरू पनि थपिए ।
सोमबार आन्दोलनकारीले सिइओ कर्णसहितका कर्मचारीलाई कार्यालय प्रवेशमा निषेध गरे । त्यसपछि सोमबार दिउँसो कर्णले राजीनामा दिए । सोमबार साँझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । ‘आन्दोलनरत कर्मचारी र अभिकर्ताले न्यूनतम बोनस दर ५० रुपैयाँ बनाउनुपर्ने माग गरेका थिए । त्यो सम्भव नभएपछि राजीनामा दिएको हुँ,’ सिइओ कर्णले भने, ‘अब ६–७ महिना रेस्ट (आराम) गर्छु ।’
साबिकका युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी एक–आपसमा मर्ज भएर बनेको हिमालयन लाइफ चुक्ता पुँजीका आधारमा सबैभन्दा ठुलो जीवन बिमा कम्पनी हो । अहिले यो कम्पनीको चुक्ता पुँजी नौ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपैयाँ छ ।
स्रोतका अनुसार पछिल्लो समय कम्पनीका सञ्चालक तथा सेयरधनीहरू पनि सिइओ कर्णसँग सन्तुष्ट थिएनन् । त्यो अवस्थामा कर्मचारी र अभिकर्ताहरू आन्दोलनमा उत्रिएका वेला सञ्चालकहरूले सिइओलाई बचाउ गरेनन् । नेपाल बिमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीमा मर्जर सिनर्जी नदेखिएको बताए । उनले भने, ‘मर्जरपछि पनि कम्पनीले बोनस दर बढाउन सकेन । बोनस दर बढाउन नसकेपछि सिइओले राजीनामा दिने अवस्था आयो ।’
सिइओको राजीनामापछि बोनस दर बढाउने सहमति
सिइओको राजीनामापछि आन्दोलनरत अभिकर्ताले दोस्रो तहका व्यवस्थापक समूहसँग बोनस दर बढाउने सहमति गरेको छ । पेसागत अभिकर्ता संघका अध्यक्ष रमेश गौतमले बोनस दर बढाउने सहमति भएको बताए ।
कम्पनी सिनियर एजेन्सी म्यानेजर अम्बिका गौतमले बोनस दर उच्च दरमा बढ्ने बताइन् । ‘सोमबार नै न्यूनतम बोनस दर यति हुने भनेर तोकिएको छैन । प्राविधिक समूह, व्यवस्थापन, बिमांकीले विस्तृत रूपमा अध्ययन गरेर बोनस दर बढाउने गरी सहमति भएको छ,’ उनले बताइन् ।