पेस्तोल देखाएर आतंक मच्चाएको भिडियो भाइरल भएपछि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। कपनको पैँयुटार बस्ने २९ वर्षीय तेन्जिङदावा लामालाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
तिब्बेतियन ओरिजिनल ब्लड(टिओबी) नामको टिसर्ट लगाएर उनले गालीगलौच गरेको र कम्मरमा पेस्तोल भिरेको फोटो तथा भिडियो सामाजिक सञ्जालमा फैलिएको थियो। सोही घटनापछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो। हालैको जेन-जी आन्दोलनसँग जोेडेर सो फोटो सार्वजनिक गरिए पनि ५/६ महिनाअघिको एक मोटरसाइकल र्यालीको भएको खुलेको छ। पक्राउ परेका लामाले पेस्तोल नक्कली भएको बताएका छन्। प्रहरीले उनको घरबाट मेड इन जर्मनी लेखिएको पेस्तोलजस्तो देखिने वस्तु बरामद गरेको छ।
उनले पेस्तोल देखाएर डर, त्रास फैलाएकाले पक्राउ गरी अभद्र व्यवहार मुद्दामा ६ दिन थुनामा राख्न म्याद लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताए। उनको घरबाट प्रहरीले टीओबी लेखिएको ज्याकेट पनि बरामद गरेको छ। प्रहरीले सो समूहका गतिविधिमाथि पनि छानबिन थालेको छ।