संखुवासभाको चैनपुर नगरपालिकामा टिपर दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।
सोमबार दिउँसो करिब पौने १२ बजेतिर कोशी राजमार्गअन्तर्गत सभाखोला–लेगुवा सडकको चैनपुर नगरपालिका–११ स्थित पुलडाँडामा टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।
लामिछानेका अनुसार लेगुवाबाट खाँदबारीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ क २९२६ नम्बरको टिपर दुर्घटना हुँदा चालकसहित दुईजना घाइते भएका छन्। टिपरचालक सिन्धुली नगरपालिका–१२ का ३० वर्षीय चुक्तबहादुर राउत र सहचालक भोजपुरको ट्याम्केमैयुम गाउँपालिका–९ का २८ वर्षीय रविन फुँयाल घाइते भएका हुन्।
घाइते सहचालक फुँयालको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। उनको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ।
चालक राउतको पनि शरीरका विभिन्न भागमा चोट लागेको छ। दुवैजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।