नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ । सामाजिक उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्यसहित सुरु गरिएको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पुर्याउने सोच भएका व्यक्तिहरू सहभागी हुन सक्नेछन् ।
१८ वर्ष उमेर पूरा भएका इच्छुक नेपालीले आगामी २८ कात्तिकसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले यसपटकदेखि नबिल एसएसई कार्यक्रमलाई मुलुकको विकास, गरिबी निवारण र सशक्तीकरणको लक्ष्यसहित गरिब र विपन्न वर्गलाई केन्द्रित गरिएको बताए ।
‘मुलुकको विकासप्रति हाम्रो प्रतिबद्धता पूरा गर्नका लागि सामाजिक उद्यमीको सशक्तीकरण सबैभन्दा प्रभावकारी माध्यम बनेको छ,’ उनले भने । नबिल एसएसईअन्तर्गतका कार्यक्रम उपलब्ध स्रोतलाई रणनीतिक रूपमा परिचालन गर्दै पछाडि पारिएका समुदायसम्म पुग्न तथा वित्तीय नवप्रवर्तन गर्दै समावेशी विकास र रोजगारी सिर्जनामा केन्द्रित भएको बताए । नबिल एसएसईअन्तर्गत दुईवटा कार्यक्रम फेलोसिप र सर्टिफिकेट कोर्स छन् ।
बैंकका अनुसार हाल नबिल एसएसईको फेलोसिप कोर्सको छैटौँ समूहका लागि आवेदन खुलाइएको हो । ६ महिना अवधिको यो कार्यक्रम त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायसँगको सहकार्यमा सञ्चालन भइरहेको छ । बैंकका अनुसार नबिल एसएसईका दुवै कार्यक्रममा सहभागी हुन चाहनेले नबिल बैंकको वेबसाइट, नबिल एसएसईको सोसल मिडियामार्फत आवेदन दिन सक्नेछन् ।
फेलोसिप कार्यक्रम स्टार्टअप तथा नवीनतम आइडियामा काम गरिरहेका सामाजिक उद्यमीलाई लक्षित गरिएको छ । जसमा सहभागीले ६ महिनासम्म विश्वस्तरीय प्रशिक्षण र मेन्टरसिप पाउनेछन् । साथै, नेटवर्क विस्तार, वित्तीय पहुँच सुविधा पनि पाउनेछन् । फेलोसिपअन्तर्गत हालसम्म ७६ जना सहभागी भई ६२ उद्यम सञ्चालन भइरहेका छन् । त्यसैगरी सर्टिफिकेट कोर्स सातवटै प्रदेशमा सञ्चालित छन् ।