२१९ किलो गाँजासहित धादिङबाट चारजना पक्राउ

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले धादिङबाट दुईजनालाई पक्राउ गरेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ खटौटीबाट २१९.२२ किलोग्राम गाँजासहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले बताए ।

रोकिराखेको भारतीय नम्बरको बिआर०१जिबी ८६५३ नम्बरको मिनिट्रकमा लुकाइछिपाइ चितवनतर्फ लैजान लागिएको अवस्थामा आइतबार २१९ किलोग्राम गाँजा, १२० ग्राम अफिमजस्तो देखिने कालो पदार्थ र सवारीसाधन बरामद गरेको प्रहरीले जानकारी दिएको छ । 

प्रहरी उपरिक्षक रिजालका अनुसार मिनिट्रकको क्याबिन पछाडिको ढालामा फल्सबटम बनाइ निकासी गर्न लागिएको अवस्थामा ३० वटा स–साना पोकामा राखेर गाँजा लैजान लागिएको अवस्थामा बरामद गरिएको थियो ।

इलाका प्रहरी कार्यालय गजुरीले पर्सा जिल्ला बाहुदरमाइ नगरपालिका–४ का २८ वर्षीय दिननाथ यादव र सोही जिल्ला कालिकामाइ गाउँपालिका–१ का ५३ वर्षीय कमल राउत कुर्मीलाई आइतबार लागु औषधसहित पक्राउ गरिएको छ । जिल्ला अदालतमा पेश गरी लागुुऔषध नियन्त्रण ऐन ०३३ बमोजिम मुद्दामा अनुसन्धानअघि बढाइएको छ ।             

त्यसैगरी प्रहरीले धुनीबेसी नगरपालिका–६ धार्केमा प्रतिबन्धित लागुऔषध २.४५ किलोग्राम पोल्याङसहित दुईजनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले चेकजाँचका क्रममा किराञ्चोकबाट काठमाडौँतर्फ बाप्र०२–०५८ प ८६८७ नम्बरको मोटरसाइकलमा दुईवटा पोका बरामद गरेको हो । गजुरी गाउँपालिका–८ का २२ वर्षीय सोनाम तामाङ र २६ वर्षीय राजकुमार लोप्चनलाई प्रहरीले पक्राउगरी लागुऔषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान गरिरहेको छ । 

धादिङको गजुरी गाउँपालिका–४ गैरीगाउँ चौकीटारमा करिब ५० रोपनी जग्गामा रहेको गाँजा खेती नष्ट गरिएको छ । स्थानीय तथा सार्वजनिक जग्गामा उम्रेका गाँजाका बोटहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले नष्ट गरेका हुन् ।

सुझावित समाचार