स्थानीयलाई सेयर उपलब्ध गराउने सहमतिपछि माथिल्लो भोटेकोसी कम्पनी सञ्चालनमा

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी पावर कम्पनी आइतबार बेलुकादेखि खुल्ने भएको छ। उत्पादन क्षेत्र भोटेकोसी गाउँपालिकाभित्रका स्थानीयलाई १० प्रतिशत सेयर उपलब्ध गराउने सहमति भएपछि एक महिनादेखि बन्द पावरहाउस खुल्ने भएको हो।

जेन-जी आन्दोलनपछि भोटेकोसीका स्थानीयले जेन–जीको नाममा कम्पनीको विद्युतगृह बन्द गरेका थिए। प्रतिकित्ता सेयर एक सय हुने गरी उत्पादन क्षेत्र भोटेकोसी गाउँपालिकाभित्रका स्थानीयलाई १० प्रतिशत सेयर उपलब्ध गराउन कम्पनी सहमत भएको गाउँपालिका प्रमुख पासाङ नुर्पु शेर्पाले जानकारी दिए।

आइतबार दिउँसो कम्पनीका प्रतिनिधि, गाउँपालिका जनप्रतिनिधि, जेन-जी प्रतिनिधि र स्थानीय अगुवासहितको सर्वपक्षीय बैठकले सेयरबारे सहमति जुटाएको हो। एक महिनादेखि पावरहाउस बन्द हुँदा ३० करोड रुपैयाँ गुमेको अपर भोटेकोसी पावर कम्पनी लिमिटेडले जनाएको छ।

उत्पादन सुरु भएको २५ वर्षपछि कम्पनीले स्थानीयलाई सेयर प्रदान गरेको हो। यसअघि २०७१ पुसमा राजनीतिक दलसँग ६ प्रतिशत सेयर दिने सहमति भएको थियो। यद्यपि, प्राकृतिक विपत्तिको कारणले सेयरको विषय स्थगित भएको थियो। ‘हामीले संघर्ष गरेर सेयर प्राप्त गरेका छौँ,’ जेन-जी प्रतिनिधि फुर्पा शेर्पाले भने।

गत असोज २ गते सेयरकै विषयमा जेन-जीलाई अलग्याएर कम्पनी र जनप्रतिनिधिको बैठक बसेपछि गाउँपालिका भवनमा युवाहरूले तोडफोड गरेका थिए। सुरुमा ९५ प्रतिशत सेयर लगानी अमेरिकन कम्पनी पान्डा इनर्जीले गरेको थियो। हाल नेपाली व्यवसायी सिद्धार्थशमशेर राणाको तारा म्यानेजमेन्ट कम्पनीले खरिद गरेको छ।

सुझावित समाचार