खैरो हिरोइन र गाँजा बरामद, भारतीयसहित तीनजना पक्राउ

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

सिराहा प्रहरीले सिराहाको गोलबजार र सीमावर्ती क्षेत्र माडरबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइन र गाँजा बरामद गरी एक भारतीयसहित तीनजनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार गोलबजार– ६ स्थित दुर्गा मन्दिर क्षेत्रको गोलचोकबाट उत्तरतर्फ गुम्बा चोकतिर जाँदै गरेको प्रदेश २–०१–००१ प ३०२६ नम्बरको मोटरसाइकल चढेका दुई युवकलाई प्लास्टिकबाहेक १५ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको हो ।

तीव्र गतिमा हुइँकिँदै उत्तरतिर जाँदै गरेको मोटरसाइकलमा रहेका चालक गोलबजार– ७ पुरानो चोहर्वाका करिब २९ वर्षीय सुनील साह र पछाडि बसेका धनगढीमाई नगरपालिका– ७ फुलकाहाकट्टी घर भएका करिब २४ वर्षीय विष्णुदेव यादवलाई पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । 

गोलबजारस्थित इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले शनिबार राति पक्राउ गरिएका दुवैजनालाई गोलबजार प्रहरीमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए । 

गाँजा बोकेका भारतीय नागरिक पक्राउ
त्यस्तै, प्रहरीले सीमावर्ती माडरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले गोप्य सूचनाको आधारमा नेपालबाट गाँजा बोकेर भारततर्फ जाँदै गरेका भारतीय नागरिकलाई करिब ६४.९ किलो गाँजासहित पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सिराहा नगरपालिका– १७ पटेर्वा गाउँदेखि करिब तीन सय मिटर दक्षिण धान खेतको बाटो हुँदै टाउकोमा गाँजा बोकेर भारततर्फ गइरहेका बिहार राज्यको मधुबनी जिल्ला जयनगर थाना बेलही ग्राम पञ्चायत– ६ बेला घर भएका करिब ५५ वर्षीय श्रीचन मण्डललाई पक्राउ गरिएको हो । 

गस्तीमा रहको प्रहरी टोलीलाई देखेलगत्तै गाँजा फालेर भाग्दै गरेका मण्डललाई लखेटेर पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको तथा फरार भएका अन्य व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्म इनर्वाबाट खटिएको सशस्त्र प्रहरी टोलीले भगवानपुर गाउँपालिका– २ स्थित बलान खोला किनारको काँसघारीमा लुकाएर राखेको अवस्थामा शुक्रबार बिहान दुई क्विन्टल १९ किलो प्रतिबन्धित गाँजा बरामद गरेको थियो ।

सुझावित समाचार