प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबिच चुनावबारे छलफल

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा निर्वाचनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् ।

आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर अध्यक्ष दाहालले फागुन २० गते राष्ट्रिय सभाको एकतिहाइ सदस्यको म्याद सकिने भएकाले ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानबारे प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन् ।

सिंहदरबारबाट बाहिरिँदै अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग राष्ट्रिय सभाको निर्वाचनका साथै राष्ट्रिय सभा बैठक बोलाउने विषयमा पनि परामर्श भएको जानकारी दिए ।

जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट बानेश्वरस्थित संसद् भवन ध्वस्त भएको छ । हलको व्यवस्थापन भएपछि राष्ट्रिय सभाको बैठक बोलाउने तयारी भएको अध्यक्ष दाहालले बताए ।

त्यस्तै, प्रधानमन्त्री कार्कीसँग राष्ट्रिय सभामा रहेका विधेयकहरूका बारेमा समेत छलफल भएको छ ।

प्रधानमन्त्री कार्कीले अहिलेको परिस्थितिमा सबै मिलेर देशलाई अघि बढाउनुपर्नेमा जोड दिएको दाहालले बताए ।

सुझावित समाचार