सूचना लुकाएर ठेक्का प्रक्रिया गैरकानुनी ढंगले सम्पन्न गरी अनियमितता गरेको आरोपमा रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, लेखापाल रामबलमप्रसाद यादव र रौतहट एड्भटाइजिङ एजेन्सी प्रालिका सञ्चालक अजितकुमार कर्णविरुद्ध आरोपपत्र दायर भएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
आरोपपत्रमा उल्लेख भएअनुसार आर्थिक वर्ष ०७७/७८ मा उक्त विद्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान र बोलपत्र स्वीकृतिको आसयसम्बन्धी सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि सो प्रक्रिया अपनाइएन ।
तीनैजना प्रतिवादीले आपसी मिलोमतो गरी ‘सिटी पोस्ट राष्ट्रिय दैनिक’ नामक सीमित प्रतिमा मात्र प्रकाशित गरिएको पत्रिकामा बोलपत्र आह्वान र स्वीकृतिको सूचना देखाएर ठेक्का प्रक्रिया अघि बढाएको आयोगले जनाएको छ ।
पत्रकार परिषद् नेपालबाट प्राप्त प्रमाणअनुसार ती सूचना वास्तविक रूपमा प्रकाशित नभएको पुष्टि भएपछि अख्तियारले सो कार्यलाई भ्रष्टाचारको श्रेणीमा परेर अनुसन्धान अघि बढाएको हो । प्रतिवादीले झुट्टा विवरणसहितको पत्रिकाको आधारमा रौतहट एड्भटाइजिङ एजेन्सीलाई झुट्टा बिल र भर्पाइमार्फत दुई लाख ५७ हजार ९७० भुक्तानी दिएको प्रमाण फेला परेको आयोगले जनाएको छ ।
आयोगले उक्त कार्यले माधवनारायण नगरपालिकालाई आर्थिक हानि पुर्याउने र उनीहरूले व्यक्तिगत लाभ लिने उद्देश्य राखेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबीसहित आरोपपत्र दायर गरेको हो ।
अख्तियारले दायर गरेको आरोपत्रमा भनिएको छ, ‘सार्वजनिक खरिद ऐनअनुसार सूचना प्रकाशन नगरी ठेक्का प्रक्रिया सञ्चालन गर्नु गम्भीर अनियमितता हो । यस्तो मिलेमतोपूर्ण कार्यले स्थानीय तहको पारदर्शिता र उत्तरदायित्व दुवैमा आघात पुर्याएको छ ।’