लखन्देहीमा आएको बाढीले टुटाएको हुलाकी सडक बाँसको फड्केले जोडिएको छ । अविरल वर्षापछि लखन्देखी खोलामा आएको बाढीले आइतबार जिल्लाको कौडेना गाउँपालिका– ३ मा एक सय ५० मिटर हुलाकी सडक बगाएको थियो । सडक बगाएपछि जिल्लाको दक्षिण–पश्चिक क्षेत्रको सदरमुकाम मलंगवासँगै सम्पर्कविच्छेद भएको थियो । उक्त स्थानमा पालिकाको सहयोगमा सुरक्षाकर्मीले बाँसको फड्के तयार गरिदिएका हुन् ।
फड्के तयार भएसँगै कौडेना, गोडैता, बलरा, रामनगरलगायत पालिकाका नागरिकलाई सदरमुकाम मलंगवासम्म पुग्न सहज भएको छ । तत्काललाई फड्केबाट पैदलयात्री र साइकल, मोटरसाइकल वारपार गर्न सकिने गाउँपालिका अध्यक्ष रुपेश कुमारले बताए । सडक बाढीले बगाएपछि निकै लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको गुनासो गरेका थिए ।
सोही स्थानमा केही स्थानीयले बाँसको अस्थायी फड्के बनाएर चर्को पैसा उठाएको गुनासो आएपछि पालिका आफैँले पहल गरेर फड्के तयार गरेको उनको भनाइ थियो । स्थानीय केही व्यक्तिले मानिस, साइकल, मोटरसाइकल वारपार गरेको १० रुपैयाँदेखि एक सय रुपैयाँसम्म लिएका थिए । यात्रुहरूको गुनासोपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले तत्काललाई पैदल यात्रु, साइकल र मोटरसाइकल सञ्चालन हुने गरी बाँसको फड्के तयार गरेको हो ।
पालिकाको सक्रियतामा आवश्यक सामग्री जुटाएर बाँसको फड्के निर्माण गरिएको जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । फड्के निर्माणपछि उक्त सडक भएर हिँड्ने यात्रुहरूले केही राहत महसुस गरेका कौडेना गाउँपालिका अध्यक्ष रूपेश कुमारले बताए । पालिकाको तर्फबाट सडकको छेउबाट डाइभर्सनसमेत निर्माण गरिरहेको बताए । ‘हामीले सडक बगाएको ठाउँमा तत्काल डाइभर्सन तयार गरिरहेका छौँ,’ उनले भने, ‘जग्गाधनीले केही आनाकानी गर्दा थोरै ढिला भयो ।’