- विगतमा ट्रम्पलाई भेनेजुयलामाथि आक्रमणका लागि आह्वान गर्दै आएकी मचाडोले नोबेल पुरस्कार पनि ट्रम्पलाई समर्पित गरेकी छिन्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत चाहना गरेका कारण यो वर्षको नोबेल शान्ति पुरस्कार घोषणा हुनुअघि धेरैले चासो दिएका थिए । हुन पनि ट्रम्पले पटक–पटक कैयौँ युद्ध रोकेकाले आफू पुरस्कारका लागि सबैभन्दा योग्य भएको दाबी गरिरहेका थिए । संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्ने क्रममा समेत उनले विश्वका विभिन्न भागका सात युद्ध रोकेको बताए र नोबेल पुरस्कारको उल्लेख गरे ।
शुक्रबार विजेता घोषणा गर्नुअघि ट्रम्प नचुनिए पुरस्कार दिने देश नर्वेमाथि अमेरिकी भन्सार शुल्क बढ्न सक्ने वा नेटोमा गर्दै आएको खर्च बढाउन दबाब पर्ने वा नर्वेलाई ट्रम्पले शत्रु घोषणा गर्न सक्नेसम्म चर्चा हुन थालिसकेको थियो । अन्तत: नोबेल कमिटीले भेनेजुएलाकी विपक्षी राजनीतिज्ञ मारिया कोरिना मचाडोलाई विजेताका रूपमा छनोट गरेर ट्रम्पलाई हिस्स बनाइदियो । अमेरिकी राष्ट्रपति ट्रम्पको पुरस्कार जित्ने आशा चकनाचुर भए पनि कमिटीले चुनेको विजेता मचाडोले भेनेजुयलामा सुरु हुन लागेको ट्रम्पको युद्ध अघि बढाउन भने सघाउन सक्छिन् ।
मचाडोले ‘भेनेजुयलाका जनताको लोकतान्त्रिक अधिकारको प्रवद्र्धनका लागि गरेको अथक प्रयास र तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण तथा शान्तिपूर्ण संक्रमण गराउन गरेको संघर्षका लागि’ पुरस्कार दिइएको नोबेल कमिटीले भनेको छ ।
तथापि, मचाडोको छवि त्यतिमै सीमित भने छैन । उनै त्यस्ती नेतृ हुन्, जसले गत महिना भेनेजुयला तटीय क्षेत्रमा सोही देशका डुंगाहरूमाथि भएका अमेरिकी हवाई आक्रमणको स्वागत गरेकी थिइन् । अमेरिकाले ती डुंगा ‘लागुऔषध तस्करहरू’को भएको दाबी गर्ने गरेको छ ।
तटनजिक अमेरिकी सैन्य उपस्थिति बढेपछि भेनेजुयलामा केही विपक्षी नेताले समेत अमेरिकी सैन्य हस्तक्षेपको खतराको चिन्ता व्यक्त गरिरहँदा माचाडोले भने हस्तक्षेपको लागि ट्रम्पलाई आह्वान गरिरहेकी छिन् । यो कुरा उनले आफ्नो नोबेल पुरस्कार जितलाई अमेरिकी राष्ट्रपतिलाई समर्पित गरेर पनि प्रदर्शन गरिसकेकी छन् ।
नोबेल शान्ति पुरस्कारका विजेताको रूपमा मचाडोको चयनको समय पनि ख्याल गर्नुपर्छ । उनलाई त्यस्तो समय पुरस्कार दिइएको छ, जब संयुक्त राज्य अमेरिकाले भेनेजुयलालाई लक्षित गरेर क्यारिबियन क्षेत्रमा युद्धपोत र चार हजार सशस्त्र बल तैनाथ गरिसकेको छ ।
भन्न त अमेरिकाले भेनेजुयलाबाट अमेरिका लागुपदार्थ बोक्ने जहाज बढेकाले सुरक्षा बढाइएको दाबी गरेको छ । तर, वासिंटनको उद्देश्य मदुरो सरकार परिवर्तनसम्म रहेको विश्लेषण भइरहेको छ । ट्रम्प प्रशासनले भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई लागुपदार्थ तस्करको आरोप लगाउँदै उनको टाउकोको मूल्य तोकिएको छ । यसले शासन परिवर्तनलाई प्रभाव पार्ने उद्देश्यले मदुरोको हत्या प्रयास हुने डरसमेत बढाएको छ ।
भेनेजुयला पछिल्लो केही वर्षभित्रै अपेक्षाकृत लोकतान्त्रिक र समृद्ध देशबाट मानवीय र आर्थिक संकटबाट पीडित राज्यमा रूपान्तरण भएको सबैले देखेकै छन् । संकटबिच लगभग ८० लाख मानिस देश छाडेर भागिसके । मदुरो सरकारविरुद्ध पटक–पटक विपक्षीले आन्दोलन गरिसके । यस्तै एक आन्दोलनको नेतृत्व गरेकाले मचाडोलाई गत वर्षदेखि भूमिगत रहन बाध्य पारिएको नोबेल कमिटीले बताएको छ ।
‘आफ्नो जीवनमाथि नै गम्भीर खतरा आइपर्दा समेत मचाडो देशमै रहेर लाखौँ मानिस लोकतन्त्रप्रति प्रेरित गरिरहेकी छिन् र अत्यन्त विभाजित विपक्षीलाई एकसाथ ल्याएको कमिटीले पुरस्कार घोषणामा भनेको छ । ‘उनी भेनेजुयला समाजको सैन्यीकरणको प्रतिरोध गर्न कहिल्यै डगमगाइनन् । उनी लोकतन्त्रमा शान्तिपूर्ण संक्रमणका लागि आफ्नो समर्थनमा दृढ रहेकी छिन्,’ पुरस्कार घोषणाका क्रममा भनिएको छ ।
मचाडो ‘सुमाटे’ नामक संस्थाकी संस्थापक हुन्, जसले आफूलाई लोकतान्त्रिक विकासमा समर्पित संस्थाको रूपमा व्याख्या गर्छ । उनले २० वर्षभन्दा लामो समयदेखि स्वतन्त्र र निष्पक्ष चुनावको माग उठाउँदै आएकी छिन् । त्यसअतिरिक्त उनले वर्षौंदेखि न्यायिक स्वतन्त्रता, मानव अधिकार र स्वच्छ निर्वाचनको वकालत गर्दै आएकी छिन् ।
सन् २०२४ मा सम्पन्न पछिल्लो राष्ट्रपतीय चुनावअघि मचाडोलाई विपक्षी गठबन्धनले राष्ट्रपति उम्मेदवार बनाएको थियो । तर, मदुरो नेतृत्वको सत्ताले उनलाई उम्मेदवार हुन अयोग्य घोषित गर्यो । त्यसपछि उनले फरक पार्टीका नेता एड्मन्डो गोन्जालेज उरुटियाको उम्मेदवारीलाई समर्थन गरिन् र उनका पछाडि लाखौँ स्वयंसेवक परिचालन गर्ने कामको सहजीकरण गरिन् ।
‘स्थायी शान्तिका लागि लोकतन्त्र पूर्वसर्त हो । यद्यपि, हामी बाँचिरहेका विश्वमा लोकतन्त्रमा ठुलो क्षय हुँदै गएको छ । धेरैभन्दा धेरै अधिनायकवादी शासनले लोकतान्त्रिक मान्यतालाई चुनौती दिइरहेका छन् । हिंसालाई शासनको माध्यम बनाएका छन् । भेनेजुयलाका शासकको सत्तालिप्सा र जनसंख्याको कठोर दमन संसारमा नयाँ होइन । अहिले विश्वव्यापी रूपमा यही प्रवृत्ति देख्छौँ । सत्तामा रहेकाहरूबाट कानुनी शासनको दुरुपयोग, स्वतन्त्र मिडियाको दमन, आलोचकको धरपकड र समाजको सैन्यीकरण । सन् २०२४ मा विगतको कुनै समयमा भन्दा बढी चुनाव सम्पन्न भए । तर, तीमध्ये थोरै मात्र निष्पक्ष भए,’ नोबेल समितिले पुरस्कार घोषणा गर्दा उल्लेख गरेको छ ।
द वायरबाट