वेस्ट इन्डिजविरुद्ध दोस्रो टेस्टमा पनि भारत नै बलियो

पहिलो टेस्टमा भारतले इनिङ्ससहित वेस्ट इन्डिजलाई १४० रनले हराएको थियो

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

आयोजक भारतले दिल्लीमा चलिरहेको दोस्रो टेस्टमा पनि वेस्ट इन्डिजविरुद्ध सानदार सुरुवात गरेको छ । भारतले कमजोर देखिएको वेस्ट इन्डिजविरुद्ध दोस्रो टेस्ट पनि सहजै जित्ने संकेत गरेको छ । दोस्रो दिन वेस्ट इन्डिजले ब्याटिङ सुरु गरेको छ । यद्यपि, टोलीको प्रदर्शन निकै कमजोर रहयो । लगातार विकेट गुमाएको छ ।

दोस्रो दिनको खेल सकिँदा भारत तीन सय ७८ रनले अगाडि छ । भारतले शनिबार टी–ब्रेकसँगै पाँच विकेट गुमाएर पाँच सय १८ रन बनाउँदै इनिङ्स समाप्ति घोषणा गरेको थियो । दोस्रो दिनको खेल सकिँदा वेस्ट इन्डिजले चार विकेट गुमाएको छ । मात्र एक सय ४० रन बनाएको छ । साई होप ३१ तथा टेबिन इमलाक १४ रन बनाएर खेलिरहेका छन् ।

भारतीय स्पिनर रवीन्द्र जडेजाले कप्तान रोस्टन चेजलाई शून्य, तेगनारायण चन्द्रपालले ३४ रन, जन कैम्पवेलले १० रन बनाएर आउट भए । ४१ रन बनाएका एलिक एथनाजलाई कुलदीप यादवले पेभिलियन फर्काएका थिए । यसअघि भारतले दोस्रो दिनको खेल तीन सय १८ रनबाट सुरु गरेको थियो । यो समयसम्म मात्र चार विकेट गुमाएको थियो । यसश्वी जैसवाल एक सय ७५ रन बनाएर रनआउट भएका थिए ।

जैसवालले २२ चौका प्रहार गरेका थिए । कप्तान शुभमन गिल एक सय २९ रन बनाउन सफल भएका हुन् । उनले करिअरको १०औँ शतक बनाउँदा १६ चौका र दुई छक्का हिर्काएका थिए । साई सुदर्शनले १२ चौकासहित ८७ रन बनाएका हुन् । पछिल्लो खेलमा शतक बनाएका ध्रुव जुरेलले ४४ तथा नितिशकुमार रेड्डीले ४३ रन बनाएका थिए । वेस्ट इन्डिजका जोमल वारिकनले सर्वाधिक तीन विकेट झारेका थिए । 

पहिलो टेस्टमा इनिङ्ससहित एक सय ४० रनले जितेको भारत दोस्रो टेस्ट पनि सहजै जित्दै सिरिज २–० ले ‘क्लिन स्विप’ गर्ने योजनामा छ । यो टेस्टपछि भारतले अस्ट्रेलियासँग खेल्दै छ । 

See More On

सुझावित समाचार