भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले इलाममा बाढी पहिरोबाट क्षतिग्रस्त संरचना तीनै तहको सरकार मिलेर पुनर्निमाणमा लागेको बताएका छन् । बाढीपहिरो प्रभावित जिल्ला इलामको अनुगमनमा शनिबार इलाम पुगेका मन्त्री घिसिङले सरकार राहत र पुनर्स्थापनाका लागि लागि परेको बताएका हुन्। उनले बाढीपहिरोका कारण क्षतिग्रस्त बनेका खानेपानी, विद्युत्, सडकलगायत संरचना पुनर्निर्माण गरिने बताए।
मन्त्री घिसिङले बाढीपहिरो प्रभावितलाई तीन तहको सरकार मिलेर राहत र पुनर्स्थापनाको काम गरिने बताए। उनले अवरुद्ध मेची राजमार्ग आइतबारसम्म सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिए। इलामलाई तीन महिनाका लागि विपत् संकटग्रस्त जिल्ला घोषणा गरिएको र त्यहीअनुसार पुनर्स्थापनाका लागि काम गरिने बताए।
अनुगमनमा पुगेका गृहसचिव रामेश्वर दंगालले इलाममा विपत् उत्पन्न हुनेबित्तिकै तत्काल उद्धार र राहतको काम गरिएको बताए। उनले अहिले बिग्रिएका सडक, बिजुली, टेलिफोन सञ्चालन गर्न लागिएको बताए। उनले विस्थापितलाई आवास र पुनर्स्थापना गरिने जानकारी दिए।
मन्त्री घिसिङसहित विभिन्न मन्त्रालयका सचिव, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ तथा कर्मचारीको टिम बाढीपहिरोले प्रभावित जिल्ला इलाममा उनी शनिबार पुगेका हुन्। यस वर्षको बाढीले सबैभन्दा धेरै प्रभावित बनेको इलाममा पुगेर उनी क्षतिको अनुगमनसँगै प्रभावितलाई पनि भेट्ने बताइएको छ।
मन्त्री घिसिङले इलाम पुगेर बाढी प्रभावित क्षेत्र इलाम नगरपालिका–१०, राजदुवालीको अनुगमन गरेका छन्। पहिरो गएको एक सातापछि उनी इलाम पुगेका हुन्। मन्त्री घिसिङले जिल्लाका सबै ठाउँमा अनुगमन सम्भव नभए पनि सडक सञ्जालले छोएको ठाउँमा अनुगमन गरिने बताए। मेची राजमार्ग अवरुद्ध भएको ठाउँमा मन्त्री घिसिङसहितको टोलीले हिँडेरै अनुगमन गरेको थियो। गत शनिबार अविरल वर्षासँगै इलाममा बाढी र पहिरो गएको थियो। पहिरोमा परी ३९ जनाले ज्यान गुमाएका छन्।