नेपाली कांग्रेस संखुवासभाले ‘विशेष महाधिवेशन’ को माग राखेर हस्ताक्षार अभियान थालेका छन् ।गत भदौ २३ र २४ गते देशभर भएको जेन-जीको आन्दोलनपछि मुलुकको परिस्थिति र राष्ट्रिय राजनीतिलाई समेत बदलेर ‘नयाँ कांग्रेस’ बनाउनुपर्ने माग राख्दै संखुवासभाका कांग्रेस नेताहरूले विशेष महाधिवेशन गर्न दबाब दिँदै हस्ताक्षार अभियान थालेका हुन्।
देशको समसामयिक परिस्थिति, नीति र नेतृत्वलगायतका विषयमा विशेष निर्णय गर्नु अपरिहार्य भएकाले यथाशक्य छिटो नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन गर्न केन्द्रमा मागसहित अनुरोध गरेका छन्। नेपाली कांग्रेस संखुवासभाका प्रतिनिधिसभा क्षेत्र नं. १ र २ का महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षार गरी केन्द्रमा पत्राचार गर्दै विशेष महाधिवेशनको माग गरेको नेपाली कांग्रेसका जिल्ला सचिव टंकमान घलेले बताए।
उनका अनुसार हालसम्म २१ जना दिपनकुमार श्रेष्ठ, निर्मला तामाङ बस्नेत, चक्रबहादुर बिसुन्के, मुना दाहाल पोख्रेल, हरिश्वर थापामगर, सुमित्रा श्रेष्ठ, सीता श्रेष्ठ, थिरबहादुर राई, उमेश चौहान, दीपेन्द्र बान्तवा, राजेन्द्र घले, चित्ररेखा अधिकारी, वंशीराज रेग्मी, उषा कार्की, टंकप्रसाद राई, पासाङ शेर्पा, मिङ्मा शेर्पा, विपिन राई, चन्द्रकुमार घोन्डे गुरुङ, सञ्जय शेर्पा (महासमिति सदस्य, नेपाल लोकतान्त्रिक शेर्पा संघ) र तारामान गुरुङ (केन्द्रीय सदस्य)ले हस्ताक्षार गरिसकेका छन्।
संखुवासभाका ९० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षार गरी विशेष महाधिवेशनकाे माग गरेका छन् भने एकाधको हस्ताक्षर गर्न बाँकी रहेको सचिव घलेको भनाइ छ। ‘हस्ताक्षर भइसकेको नामावली केन्द्रमा पठाइसकेका छौँ, बाँकी रहेकाहरूको आज बेलुकीसम्म हस्ताक्षार संकलन सकिएपछि केन्द्रमा पठाउँछौँ, भोलि (आइतबार) नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक रहेकाले दबाब सिर्जना गर्न हस्ताक्षार अभियान थालेका हौँ। कांग्रेस अब सच्चिएर अघि बढ्नुपर्छ भन्ने हाम्रो माग हो,’ घलेले भने।
कांग्रेसलाई मजबुद, बलियो र जेन-जीले भने भष्ट्राचाररहित समाज र मुलुकको सुशासन कायम गर्न कांग्रेसका युवाहरू अघि बढ्नुपर्छ भन्ने हाम्रो माग रहेको जिल्ला सचिव घलेको भनाइ छ।