कैलालीमा घाँटी रेटेर एकजनाको हत्या, टाउको बोकेर प्रहरी कार्यालय गइरहेका दुईजना पक्राउ

शनिबार, २५ असोज, २०८२
डिजिटल संस्करण

कैलालीमा एक युवाको बीभत्स हत्या गरिएको छ। घोडाघोडी नगरपालिका–८ मा स्थानीय २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर गएराति हत्या गरिएको हो। घाँटी रेटेर टाउको बोकी प्रहरी कार्यालय  गइरहेका दुईजनालाई  पक्राउ परेका छन्। सोही ठाउँका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गंगा बुढाक्षेत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए। उनका अनुसार शुक्रबार राति विवाद हुँदा घटना भएको हो।

राति साढे ११ बजेतिर घोडाघोडी–६ स्थित अस्थायी प्रहरी पोस्ट प्रतिखेत अगाडि हिँडिरहेका बिक र बुढा क्षेत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार हातमा धारिलो हतियार लिएर हिँडिरहेका दुईजनालाई प्रहरीले सोधपुछ गर्दा उनीहरूले आफूले मान्छे मारेको भनेर टाउको देखाएका थिए।

टाउको लिएर दुवैजना प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न गइरहेको बुझिएको प्रहरीले जनाएको छ। स्थानीय एक पसलमा राति सँगै बसेर खाजा खाने क्रममा विवाद भएको र बुढाले गाली गरेपछि गडसाले घाँटी रेटेर उनको हत्या गरेको बयान दुवैजनाले दिएकाे प्रहरी नायब उपरीक्षक अवस्थीले जानकारी दिए।‘आमा, बहिनीका नाममा गाली गरेपछि रिस उठेर घाँटी रेटेको उनीहरूले बयान दिएका छन्,’ अवस्थीले भने, ‘घटनामा अहिलेसम्म दुईजनाको संग्लग्नता देखिन्छ, थप अनुसन्धान गर्दै छौँ।’

 मृतकको घर सुर्खेतको चौकुने गाउँपालिका–३, पनि रहेको प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार