कांग्रेस दोहोरो खेलमा

शनिबार, २५ असोज, २०८२
डिजिटल संस्करण

विघटित प्रतिनिधिसभाको ठुलो दल कांग्रेसले ६ महिनाभित्र निर्वाचन गर्ने म्यान्डेटसहित गठित अन्तरिम सरकारले त्यसका लागि वातावरण बनाउन नसकेको टिप्पणी गरेको छ । यसैलाई देखाएर कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापनाको ढोका पनि खुला राख्ने राजनीतिक आधार बनाउने प्रयास पनि कायम राखेको छ । यद्यपि, औपचारिक निर्णय भने कांग्रेसको आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले लिनेछ ।

केन्द्रीय समितिको बैठकको तयारीका लागि बसेको कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी तथा कार्यसम्पादन समितिका सदस्यहरूको शुक्रबारको बैठकमा पार्टीको आन्तरिक अवस्था र राजनीतिक परिस्थितिबारे छलफल भएको थियो । त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस बैठकमा निर्वाचनका लागि सहज र सकारात्मक माहोल बनाउन सरकार गम्भीर नभएको विषय उठेको बताए । 

‘संवैधानिक व्यवस्थाअनुसार सरकार निर्माण भएको छैन । संसद् विघटन पनि संविधानअनुकूल छैन, यसलाई असंवैधानिक भनेकै छौँ । तथापि निर्वाचन मिति तोकिएको छ । निर्वाचन हुन्छ–हुँदैन भन्ने अन्योल छ । सरकार निर्वाचन सहज, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण बनाउन गम्भीर देखिएको छैन,’ उनले भने, ‘कांग्रेस जनतामा विश्वास गर्ने पार्टी भएकाले जनसमक्ष जाने विषय नकार्न सक्दैनौँ । तर, भोलि कस्तो अवस्था आउँछ भन्ने निश्चित भएन । त्यसैले संसद् पुनर्स्थापनाको बाटो पनि खुला राख्नुपर्छ भन्ने हाम्रो धारणा छ ।’ 

महतका अनुसार बैठकमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित २३ र २४ को घटनाबारे जाँचबुझ आयोगबारे छलफल भएको थियो । ‘बैठकमा आयोगबारे पनि कुरा उठेको थियो । आयोग पूर्वाग्रही हुनुभएन भन्ने धारणा छ । २३ भदौमा कुन परिवेशमा गोली चल्यो, यसमा अनेकौँ प्रश्न उठेका छन् । घुसपैठलगायत सार्वजनिक भएका छन् । यसको यथेष्ट अनुसन्धानका आधारमा आयोग निष्कर्षमा पुग्नुपर्छ,’ महतले भने, ‘निष्कर्षमा पुगिसकेपछि संलग्न को थिए भन्ने स्पष्ट होस् र सबै निक्र्योल भएपछि कारबाही प्रक्रिया अघि बढ्नुपर्छ ।’ 

बैठकमा २४ भदौमा देशव्यापी रूपमा भएको लुटपाट र राष्ट्रिय सम्पत्तिको क्षतिमा संलग्नहरू पक्राउ भए पनि सरकारले विनाकारबाही छाडेको कांग्रेस नेताहरूको आरोप छ । ‘यस विषयलाई हामीले गम्भीर रूपमा लिएका छौँ । आगजनी र तोडफोड, लुटपाटमा संलग्न भएकालाई कारबाही गर्नुपर्छ,’ महतले भने । 

महतका अनुसार पार्टी सभापति शेरबहादुर देउवामाथि सार्वजनिक रूपमा कुटपिट भएको, छानीछानी नेताहरूको घरसम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरिएको विषयमा पनि बैठकमा चर्चा भएको छ । ‘कांग्रेस लोकतान्त्रिक शक्तिको प्रतीक हो । यसलाई लक्षित गरेर आक्रमण भएको छ,’ महतले भने, ‘लोकतान्त्रिक पद्धति र शक्तिलाई कमजोर पार्न खोजिएको छ । त्यसकारण अहिले पार्टीमा धु्रवीकरण र विभाजनको कार्य हुनुहुँदैन भन्ने नै साथीहरूको जोड छ ।’

महाधिवेशनबारे के भयो छलफल ?
बैठकमा नेताहरूले पार्टीको महाधिवेशनका विषयमा पनि धारणा राखेका छन् । प्रवक्ता महतका अनुसार केन्द्रीय कार्यसम्पादन समिति सदस्य, पूर्वपदाधिकारी र बहालवाला पदाधिकारीको सुझावपछि साझा धारणा बनाउने र त्यसलाई बुँदागत एजेन्डाका बनाएर केन्द्रीय समिति बैठकमा पेस गर्ने कांग्रेसको तयारी छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २६ असोजदेखि बस्दै छ । 

‘यो चुनौतीपूर्ण अवस्थामा पार्टीलाई कसरी अघि बढाउने, देशको राजनीतिक परिस्थितिबारे दृष्टिकोण बनाउने विषयमा केन्द्रित भएर छलफल भइरहेको छ । मूलत: पार्टीको आन्तरिक र बाह्य परिस्थितिबारे छलफलमा छौँ,’ बैठकपछि प्रवक्ता महतले भने । उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा नेताहरूले सुझाव दिने क्रम जारी रहेको महतले बताए । शुक्रबारको बैठकमा नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, डा. शशांक कोइराला, उमा रेग्मी, आनन्दप्रसाद ढुंगाना, सुजाता कोइरालालगायतले बोलेका थिए । सिटौलाले अहिले नेतृत्वमाथि आलोचना गर्नु उपयुक्त नभएको बताएका थिए । 

सुझावित समाचार